काठमाडौं । कोरोना संक्रमणसहित विभिन्न समस्याबाट ग्रसित भइ उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार अध्यक्ष केसीको अक्सिजनको मात्रा लेवलमा आएको छ भने निमोनिया पनि सुधार भएको छ ।
अस्पतालले शुक्रबार दिउँसो २ बजे दिएको विवरणमा उहाँको अवस्था हिजो भन्दा निकै सुधार देखिएको अध्यक्ष केसीका भतिजा तुफान केसीले बताए।
उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै तुफान केसीले भने, ‘अध्यक्ष केसीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । उहाँको अक्सिजनको मात्रा ९४/९५ पल्स अक्सिमिटरको लेभलमा छ, जसलाई नर्मल मानिन्छ । निमोनियाको अवस्थामा पनि सुधार भएको छ । हिजोको तुलनामा आज उहाँलाई खाना रुचेको छ ।’
भतिजा तुफानका अनुसार अध्यक्ष केसीलाई आज दोस्रो डोज र्याम्डीसेभेर औषधि दिइएको छ । अब थप तीन डोज सो औषधि दिएपछि उहाँको पुनः कोरोनाको पीसीआर परीक्षण हुनेछ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत अध्यक्ष केसीलाई पेटको समस्या, डायरियासँगै निमोनिया भएको थियो । मंगलबार सो अस्पतालमा भर्ना हुनुभएका उहाँमा बुधबार कोरोना पोजिटिभ देखिएको थियो ।
अध्यक्ष केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले हरेक दिन परिवारका एक जना सदस्यलाई जानकारी दिने सहमति भएको राजमो उपाध्यक्ष दुर्गा पौडेलले बताइन ।