सुर्खेत । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमाका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एक साथ शिलान्याश गरिएको छ । कर्णाली प्रदेशका दश वटा जिल्लामा ५, १०, १५ शैयाका अस्पतालको एक साथ शिलान्यास गर्न गरिएको हो ।
कर्णाली प्रदेशमा ५ शैयाको एक, १० शैयाका नौ र १५ शैयाका ३२ वटा स्वास्थ्य चौकी एकसाथ शिलान्यास गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७÷७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, जाजरकोट, हुम्लामा ४÷४ वटा स्थानीय तहमा, रुकुमपश्चिम, डोल्पाका ३÷३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २÷२ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमा बन्न लागेका अस्पतालको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु र सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरुले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
निर्धारित समयभन्दा अगाडी शिलान्यास
राष्ट्रिय गौरवका रुपमा लिएको स्थानीय तहमा स्थापना गरिने सामुदायिक अस्पतातहरुको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अगाडी नै गरेका छन् । सुर्खेतका ४ वटा स्थानीय तहमा १५ शैयाका अस्पतालहरुको शिलान्यास राज्यमन्त्री रावतले यसभन्दा अगाडी नै गरिसकेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका–९ को लाटिकोइली, बराहताल गाउँपालिका–५ को बड्डिचौर, चौकुने गाउँपालिका–४ को बिजौरा र पन्चपुरी नगरपालिका–२ को साल्कोटमा १५ शैयाको अस्पताल शिलान्याश निर्धारित समय अगाडी गरेका हुन् ।
हेलिकप्टर चार्टर गरेर अस्पतालको शिलान्याश
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले हेलिकप्टर चार्टर गरेर हुम्लाको सर्केघाट गाउँपालिकाको अस्पताल शिलान्याश गरेका छन् ।
नेपाल सरकारको निर्णय अनुसार स्थानीय तहमा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको उद्घाटनका लागि गाउँपालिकाको लाखौं बजेटमा हेलिकोप्टर चार्टर गरेर मन्त्री रावल हुम्ला पुगेका हुन् ।
सुर्खेतमा रहेका गाउँपालिका अध्यक्ष कृष्णबहादुर रोकाया ‘करुण’ र उपाध्यक्ष जोशी धामीले मन्त्री रावलका लागि नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर सर्केघाट पुगेका हुन् । गाउँपालिकाको रकमबाट हेलिकोप्टरको भाडा व्यहोर्न लगाएर मन्त्री रावल अस्पताल शिलान्याश गरेकोमा स्थानीयले बिरोध गरेका छन् ।
मुख्यमन्त्री कालिकोट पुगे
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १५ शैयाको अस्पताल उद्घाटन गर्नका लागि कालिकोटमा पुगेका छन् । मुख्यमन्त्री शाहीले कालिकोटको नरहरीनाथ–४ कुमालगाउँमा स्थापना हुने अस्पतालको शिलान्याश गर्न कालिकोट पुगेका हुन् ।
मुख्यमन्त्री शाहीले कालिकोटका रास्कोटमा स्थापना हुने १५ शैयाको अस्पताल शिलान्याश हुने कार्यक्रम रहेको भएपनि समय अभावका कारणले शिलान्याश गर्न पाएन् ।