सुर्खेत । जुम्ला राेडकाे यरिचौक नजिक चाइना पुलमा अटोलाई ठक्कर दिएर बस फरार भएको छ । मंगलगढीचौकबाट यरिचौकतर्फ जाँदै गरेको भे १ ह १५२८ नम्बरको अटोलाई ठक्कर दिएर बस फरार भएको हो ।
अटो पुलबाट तल खोर्के खोलामा खसेको छ । अटो चालक दैलेख भैरवी गाउँपालिका–४ हाल वीरेन्द्रनगर–४ भैरवस्थानका ३४ वर्षीय कर्णबहादुर थापा घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
उनकाअनुसार घाइते थापाको बायाँ खुट्टा भाँचिएको र उनको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण नखुले पनि फरार बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।