सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शत प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको बताएका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री शाहीले मन्त्रालयमा आयोजित प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा शत प्रतिशत बजेट कार्यन्वयन गर्ने लक्ष्य राखेको बताएका हुन् ।
मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनसँग सम्बन्धित धेरै समस्या हल भएको बताउदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने बताए । ‘संगठन संरचनाको टुंगो लागेर मन्त्रालयमातहत हरेक जिल्लामा २ वटा कार्यालय रहेको, सेवा करार मार्फत कर्मचारी अभावको समस्या सामाधान भएको, हरेक जिल्लामाप्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भएको छ ।’ उनले भने,‘बजेट कार्यान्वयनमा देखाईने कुनै बाहानावाजी आफुलाई स्वीकार रहने छैन् ।’
कार्य सम्पादनका आधारमा मूल्याङकन हुने बताउँदै मुख्यमन्त्री शाहीले कार्यालयमा बसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्च्याउनु पर्नेमा बताए । ‘कार्यालय प्रमुख समेत फिल्डमा खटेर परिणाममुखी काम गर्नुपर्छ ।’ उनले भने,‘दोश्रो चौमासिकमा ५० प्रतिशत कार्य प्रगतिसहित समिक्षा गोष्ठीमा आउनुहोला ।’
मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीको भरमा आयोजना नछोडन निर्देशन दिदै हरेक आयोजना एवं निर्माणस्थलमा प्राविधिक खटाउनुपर्ने बताए । ‘विकास आयोजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माण कार्यको लागि अनुगमन तथा निरिक्षणको कार्यलाई कडाई गर्नुपर्छ ।’उनले भने,‘भुक्तानी प्रक्रियामा ढिलासुस्तीको गुनासो आउने गरेको छ ।’