हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।
आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् ।
आज बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन । सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आलगाली भएको केही समयपछि नियन्त्रणमा लिन नेपाल प्रहरीले माइकिङ गरेसँगै सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको छ । महिला तथा पुरुष आगो नियन्त्रणमा लागि परेका छन् ।
केहिबेरअघि अचानक विमानस्थल प्रमुख बस्ने क्वाटर्रमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिए ।
आगोको लप्का विमानस्थल प्रमुखको क्वाटर्रको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा थाहा भएको सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।’
नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयको पहलमा आगो निभाउने काम भइरहेको छ ।
अत्याधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा ल्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।