सुर्खेत ।पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम सुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ ।
आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५ किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र कालोपत्रे भएको छ । अब काम धमाधम अगाडि बढिरहेको मध्यपहाडी आयोजना कार्यालय दैलेख प्रमुख डा. अर्जुनकुमार बमले बताए ।
दुई वटा पक्की पुलसहित १२ वटा ठेक्का अहिले सञ्चालनमा आएका छन् । काम सुरु भएदेखि यो वर्षसम्मको ठेक्कामा कुल ४ अर्ब २७ करोडको लागतमा विभिन्न स्थानमा काम सुरु गरिएको छ । अहिलेसम्म १ अर्ब ३४ करोड भुक्तानी भइसकेको आयोजनाले जनाएको छ ।
मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख बमका अनुसार रुकुम पूर्व र अछामसम्म १० अर्ब ८८ करोड ५९ लाख बराबरको विभिन्न ठेक्कामार्फत सडक कालोपत्रेका लागि काम सुरु भइरहेकोे छ ।
पक्की नाली र ग्राभेल उप्काउँदै कालोपत्रेको तयारी
मध्यपहाडी सडकखण्डअन्तर्गत दैलेख खण्डका कतिपय स्थानमा ६ वर्षअघि पक्की नाली र ग्राभेल सम्पन्न भएको थियो । उक्त कामका लागि करोडौँ रकम राज्यकोषको खर्च गरियो तर अहिले पक्की नाली भत्काएर पुनः काम सुरु भइरहेको छ ।
ग्राभेल थुपारेर राखिएको छ । वन क्षेत्र र सहजै सडक चौडा गर्न सकिने स्थानमा बनाइएका नाली पुरिनु र ग्राभेल जम्मा गरेर राखिनुले यसअघि गरिएको गलत इञ्जिनीयरिङका कारण राज्यकोषको करोडौँ रकम फजुल खर्च भएको स्पष्ट देखिएको छ ।
विशेष गरेर सदरमुकामको लोहोरेदेखि भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमाना चगर्तासम्मको सडकखण्डमा अहिले कुनै पनि पुरानो संरचना देख्न र भेट्न पाइँदैन । करोडौँ रकम यसअघि यही सडकमा खर्च भयो, ओहोरदोहोर गर्दा देखिने पुराना संरचना अहिले कुनै पनि देखिँदैनन्, ग्राभेल थुपारेर राखिएको छ । यसरी सडककै नाममा फजुल खर्च नियोजितरूपमा गरिएको हुनसक्ने यस्ता कुराको छानबिन हुनुपर्ने माग स्थानीयवासीको छ ।