हुम्ला । कर्णाली करिडोरअन्तर्गत उत्तर–दक्षिण राजमार्ग जोड्ने नाम्खा गाउँपालिका–२ मा पर्ने च्याछरा भिरको कडा चट्टान काटेर सडकको ट्रयाक खोल्ने कार्य ठेकेदारको लापरबाहीको कारण अलपत्र परेको छ ।
हिल्सा–सिमकोट योजनासँग ०७२ सालमा सम्झौता भई ०७५ सालमै निर्माण सम्पन्न हुने भनिएको च्याछराखण्ड साढे ६ वर्षसम्म पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको छ ।
निर्माणको जिम्मा पाएको श्री जयन्ती एडी जेभीले सम्झौता गरेको साढे ६ वर्षसम्म पनि निर्माण कार्य अलपत्र पारेपछि स्थानीयहरूलाई आवतजावतमा अति समस्या भएको छ ।
ठेकेदारले सडक निर्माणकार्य ढिलो गरेपछि स्थानीयवासीहरूलाई आवतजावत गर्न निकै समस्या भएको नाम्खा गाउँपालिका– ४ याल्वाङका स्थानीय छेपाल दोर्जी लामाले दुखेसो गरे ।
च्याछहराखण्डको सडक निर्माणकार्य लामो समयदेखि ठेकेदारले अलपत्र पारेपछि नाम्खा गाउँपालिका आवतजावत गर्ने समस्या भएको लामाले बताए ।
ठेकेदारले विभिन्न किसिमका बहानाबाजी गरेर कहिले हिउँ पर्ने, कहिले प्राविधिक समस्या, कहिले ढुवानी, कहिले मेसिनरी औजार त कहिले कामदारजस्ता समस्या देखाउने गरेर च्याछहराखण्डको भिर छिचोल्ने काम अलपत्र पारेको स्थानीयवासीहरूले आरोप लगाउने गरेका छन् ।
कति बजेट छ ?
च्याछहराखण्डको चट्टान छिचोल्नका लागि कुल ठेक्का लागत रकम चार करोड ९९ लाख भए पनि ठेकेदारले घटिघटाउमा तीन करोड ६४ लाख रुपैयाँमा ठेक्का स्वीकार गरेको जानकारी हिल्सा–सिमकोट आयोजनाले कार्यालयले दिएको छ ।
उक्त कार्यालयले श्री जयन्ती एडी जेभीका प्रतिनिधि तेजबहादुर महतलाई पटकपटक समयमै काम सम्पन्न गराउन जानकारी गराए पनि म्याद थप गराउँदै साढे ६ वर्षसम्म पनि काम सम्पन्न नगरेको जनाएको छ ।
पटकपटक म्याद थप गराई काम गर्नेजस्तो गरी ठेकेदार कम्पनीले दुई करोड २१ लाख रुपैयाँ भुक्तानी लिएको छ ।
हिल्सा–सिमकोट सडक आयोजनाका निमित कार्यालय प्रमुख रमेशप्रसाद पाठक भने अगाडिको कुरा आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजेका छन् ।
उनले अहिले लकडाउनका कारण ढिलाइ भएको भन्दै ठेकेदारको बचाउ गरेका छन् ।
उनले भने, ‘मलाई अगाडिको कुरा त थाहा भएन, तर अहिले च्याछहराखण्डको काम ढिला हुने कारणहरू लकडाउन, मेसिनरी औजारको अभाव, ढुवानीमा समस्या, इन्धनको खाँचो र कामदार अभावले ढिलाइ भएको हो ।’
हिल्सा–सिमकोट सडक आयोजनालाई दुई भागमा बजेट विनियोजित गरिएको छ ।
सडक निर्माण तथा विस्तारका लागि कुल लागत खर्च एक अर्ब ११ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विभिन्न ठेक्का कम्पनीहरूसँगको घटिघटाउमा एक अर्ब सात करोड ३८ लाख रुपैयाँ ठेक्का रकम पुगेको छ । ०७२ देखि ७६ सम्म विभिन्न ठेकेदार कम्पनीहरूसँग सम्झौता गरिएको छ ।
त्यसका लागि हालसम्म ४३ करोड ५३ लाख रुपैयाँ पैसा भुक्तानी गरिएको छ ।