काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका छन् ।
पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए । पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताएका छन् ।
प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।
ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्यो । सचिवालय बैठकमा ओलीले आफ्नो असहमति जनाएका थिए तर निर्णयमा नोट अफ डिसेन्ट भने लेखेका थिएनन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार स्थायी कमिटी बैठकको एउटै एजेण्डा ‘पार्टीको आन्तरिक समस्या’ तय भएको छ । र, थप गृहकार्य गरेर ७ दिनपछि बैठक बस्ने तय भएको छ । २५ मंसिरमा बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस १ गतेलाई सरेको छ ।