सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा इकाई गठन गर्न लागेको छ । विश्वविद्यालयको भौतिक सम्पत्ति, आन्तरिक सुरक्षाका लागि सुरक्षा इकाई गठन गर्न लागेको हो ।
३० मंसिरमा काठमाडौं बस्ने विश्वविद्यालयको यो वर्षको सिनेटमा सुरक्षा इकाई बनाउने प्रस्ताव पेस गर्नेछ । मध्यपश्चिमाञ्चलले बनाउन लागेको सुरक्षा इकाई नेपालका विश्वविद्यालयमध्येमा पहिलो भएको विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले बताए ।
‘भारत, चीनलगायतका विश्वका कतिपय विश्वविद्यालयले आफ्नै सुरक्षा युनिट बनाएका छन्,’ सिंहले भने, ‘नेपालमा हामीले पहिलो पटक अभ्यास गर्न लागेका छौँ । मध्यपश्चिमाञ्चलले बनाउन लागेको सुरक्षा इकाई नेपालका विश्वविद्यालयमध्येमा पहिलो हो ।’
विश्वविद्यालयले अहिले बाहिरी सेक्युरेटी कम्पनीबाट सुरक्षाका लागि जनशक्ति मगाएको र कम्पनीलाई वार्षिक लाखौँ रुपैयाँ जाने गरेको उपकुलपति प्राडा. सिंहले बताए । ‘आन्तरिक सुरक्षा तथा रेखदेखका लागि आफ्नै सुरक्षा इकाई आवश्यक महशुस भयो’, उनले भने, ‘त्यसैले यो पटकको सिनेटमा यसको प्रस्ताव पेस गर्ने तयारी भइसकेको छ ।’
विश्वविद्यालय सुरक्षा इकाईमा २५ वर्षदेखि ३५ वर्ष उमेर नघागेका अवकास प्राप्त नेपाली सैनिक, भारतीय सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका मान्यता प्राप्त सुरक्षा संगठनमा काम गरेका व्यक्ति रहने उपकुलपति प्राडा. सिंहले बताए । ‘सुरक्षा इकाईका सदस्यलाई ५० वर्ष उमेर पुगे अवकास दिइनेछ’, उनले भने, ‘सुरक्षा इकाईको आफ्नै पोशाक हुनेछ । तत्कालका लागि करार सेवामा जनशक्ति लिइनेछ ।’
विश्वविद्यालयको सिनेटमा पेश गरिने यससम्बन्धी प्रस्ताव पारित भएमा गठन हुने सुरक्षा इकाईमा तत्कालका लागि २० जना राखिने प्राडा. सिंहले बताए ।