काठमाडाैं । कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँच योग्य आँखा सेवा विस्तार गर्न नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) साझेदारीमा कार्य गर्ने भएका छन् । सो को लागि आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र नेरेसोको तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी ५ वर्ष सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल रेडक्रसले कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धि गरी एकिकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुवैपक्ष सहमत भएका हुन् ।
कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले आँखा सेवालाई प्राथमिकता दिँदै आएको र स्वीस रेडक्रस लगायत संस्थाहरुकोे सहयोगमा आँखा सेवाका साथै पोषण, स्वास्थ्य र सरसफाई जस्ता गतिविधिहरु एकीकृत गरी समुदायमा सेवा पुर्याएको जानकारीे दिनुभयो । नेपाल नेत्रज्योती संघका अध्यक्ष चेतराज पन्तले भने, ”कर्णाली प्रदेशका जनताले अन्धोपन र बहिरोपन निवारण सम्बन्धी सेवा र प्रतिफल पाऊन भन्ने उद्धेश्यले यो सम्झौता गरिएको हो । ”