काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ।
नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ ।
नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन् ।
इन्चार्ज प्रतापले प्रेस वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको सबैमा विदितै छ । यसै सन्दर्भमा पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको मृत्युका बारेमा तथ्य सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’
श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएको नेकपाले जनाएको छ ।
श्रेष्ठले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका बिज्ञप्तिमा उल्लेख छ ।
२०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको नेकपाले जनाएको छ ।