सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आज कोरोना संक्रमित एक वृद्धको सुर्खेतमा मृत्यु भएको छ ।दैलेखकाे गुराँस गाउँपालिका–५ घरभएका ८७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड–१९ अस्पतालमा मंसिर १५ गते भर्ना गरिएका वृद्धको दिन कोरोना पुष्टि भएको थियो । एक्सपर्ट विधिबाट गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
बिहीबारदेखि उनकाे रगतमा चिनीकाे मात्रा उच्च भएपछि इन्सुलिनबाट उपचार शुरु गरिएपनि अवस्था जटिल बन्दै गएपछि आज विहान ८ बजे मृत्यु भएको कँडेलले बताए ।
उनको शव व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलको भनाई छ । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।