सुर्खेत ।राष्ट्रिय सडक सञ्जालले नछोएको एक मात्र जिल्ला हुम्लालाई कर्णाली काेरिडोर ट्रयाकबाट जोडिएको छ । कर्णाली काेरिडोरअन्तर्गत निर्माणाधीन हुम्ला खण्डमा । ।संचालन गर्न लागिएको हो ।
कर्णाली काेरिडोरअन्तर्गत हुम्लाका चार स्थानीय तहमा साना सवारीसाधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरेका छन् । हुम्ला जिल्ला प्रतिनिधिसभा सदस्य छक्क लामा, जिल्ला समन्वय समिति संयोजक दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल, अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा सुरक्षा प्रमुखहरूले संयुक्त स्थलगत अनुगमन गरी यातायात संचालनका लागि अनुमति दिने निर्णय गरेका हुन् ।
सांसद लामाले नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली काेरिडोरअन्तर्गतका केही स्थानीय तहमा साना सवारीसाधन चल्न दिने सहमति भएको बताए । उनले भने, ‘बाटो खुलेका खण्डमा साना सवारी चलाउन लागिएको हो । सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिन अझै समय लाग्छ ।’
कर्णाली काेरिडोरले छोएको हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकामा सडक यातायात संचालनका लागि अनुगमन गरिएको थियो । हुम्लाका दक्षिण र मध्य क्षेत्रका चार स्थानीय तहका साथै मुुगुको सोरुकोट गाउँपालिकामा यातायात संचालनमा आउने छ । ताँजाकोट गाउँपालिकाको कर्बाडीदेखि सर्केगाड गाउँपालिकाको खचासम्म यातायात संचालन गर्ने निर्णय भएको छ ।
यसअघि कर्णाली काेरिडोरको कालिकोट नरहरिनाथको खुलालुदेखि बाजुरा धुलाचौरसम्म ८० किलोमिटर सडकखण्डमा सवारीसाधन चल्न थालेका थिए । कर्णाली काेरिडोर अहिले त्रिदेशीय नाका पनि हो । चीन र भारतको त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली काेरिडोरमा कर्णालीका नागरिकका लागि लाइफलाइन नै मानिएको छ ।
करिब ११ वर्षदेखि सडक विभागले काम थालेको कर्णाली काेरिडोरमा ठेकेदारमार्फत करिब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रूपमा काम भएको थिएन । कामले तीव्रता नपाउँदा स्थानीयले आन्दोलन गरी २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट नेपाली सेनाले २०७२ चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘कर्णाली काेरिडोरमा ठेकेदारमार्फत करोडौं खर्च भयो’, उनले भने, ‘अहिले नेपाली सेनाले जिम्मा लिएपछि निर्माण कार्यले तीव्रता पाएको छ ।’
कर्णाली काेरिडोरको कालीकोट खण्ड ४० र बाजुरा सडकखण्डको ४३ किमि ट्याक ओपन भएर संचालनमा आएको नेपाली सेनाका कर्णाली काेरिडोर निर्माण कार्यदलले जनाएको छ ।
कर्णाली काेरिडोर कालिकोट खण्ड ४० किमि, बाजुरा खण्ड ४३ किमि र हुम्ला खण्ड ११३ दशमलव ३४७ किमि गरी १९६ दशमलव ३४७ किमि छ । विसं २०५७ सालमा कालिकोट काेरिडोरको शिलान्यास गरिएको थियो । शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो ।
कर्णाली काेरिडोरअन्तर्गतको खुलालुमा रहेको पुल समयमै नबन्दा समस्या भएको छ । कर्णाली नदीको खुलालुमा पुल नबन्दा खुलालुदेखि लालीघाटसम्मको १ किलो मिटर ट्याक ओपन हुन सकेको छैन ।
यसअघि सडक विभागले उक्त काेरिडोरको चीनको सिमाना हिल्सादेखि जमुनासम्मको सडकको लम्बाइ ५३० किलोमिटर निर्धारण गरिएको थियो । नेपाली सेनाको सर्भे अनुसार, २२ किलोमिटर कम भएको छ । अब घटेर ५०८ किलोमिटर निर्धारण हुनेछ ।