काठमाडौं । बालुवाटारको जग्गा प्रकरणमा मुछिएका अयार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई डिल्ली बजारस्थित सदखोर कारागार चलान गरिएको छ।
विषेश अदालतले आइतबार थुनछेक आदेश गर्दै बस्न्यातलाई थुनामा पठाउने निर्णय गरेको थियो।
उनलाई सदरखोरको ‘क’ ब्लकमा राखिएको बताइएको छ। यही ब्लकमा यसअघि पूर्व सभामुख कृष्णबहादुर महरा र सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइरालालाई राखिएको थियो।
सो कारागार भीआईपी थुनुवाका लागि चर्चित छ। यसअघि सोही कारागारमा नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्द ठकुरीलाई त्यही राखिएको थियो।
टिकापुर घटनामा दोषी ठहर रेसम चौधरीलाई पनि डिल्ली बजार कारागारमै राखिएको छ।
अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आइतबार गरेको थुनछेक बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
बस्न्यात बालुवाटारको जग्गा मुद्दामा विशेष अदालतमा आइतबार उपस्थित भएका थिए।
बस्न्यातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको दावी छ।
बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरेको थियो।
अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो।
त्यसमध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत रहेका थिए।
गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भनेता पनि कोरोनाको महाकारीका कारण गरिएको बन्दाबन्दीले सरेको थियो।
पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भई जोशीबाहेक अन्य जनही रु पाँच लाख धरौटीमा छुट्ने आदेश भएको थियो । अदालतले जोशीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो।