काठमाडौ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि चिढिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसंगै सबै लोकतन्त्रपक्षधरलाई अपील गरेका छन्। विरोध प्रदर्शनको अघिल्लो दिन आइतबार विज्ञप्ति जारी गर्दै देउवाले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न/गराउन आग्रह गरेका छन्।
सभापति देउवाले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रुपमा लिएको दावी गर्दै अब संसद र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने स्पष्ट पारे। उनले आजको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताए। ‘लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो,’ उनले भने, ‘अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनुछ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ।’
सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ। सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दावी कांग्रेसको छ।
‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?,’ देउवाको प्रश्न छ, ‘महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’
कांग्रेसले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौं केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको छ। देशव्यापी विरोध प्रदर्शनको तयारीबारे छलफल गर्न मंसिर २५ गते बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले अब काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने निष्कर्श निकालेको थियो।
केन्द्रीय नेता जिल्लामा
देशभर हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय नेताहरु विभिन्न जिल्ला पुगेका छन्। पार्टी सभापति देउवा हेटौडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन्। त्यस्तै उपसभापति बिमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषामा सम्बोधन गर्ने कार्यक्रम छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी जाने तय भएपनि शनिबार कोरोना पुष्टि भएपछि उनी होमआइसोलेशनमा छन्।
पूर्वसहमहामन्त्री डा. रामशरण महत चितवन, अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा पुगिसकेका छन्। केन्द्रीय सदस्य एनपी साउँद अछाम, चन्द्र भण्डारी नुवाकोट, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी, शंकर भण्डारी सिराहा, सुरेन्द्र पाण्डे रुपन्देही, गगन थापा कैलाली, धनराज गुरुङ स्याङ्जा, रामहरी खतिवडा इलाम र नैनसिंह महर दोलखा पुगेका छन्। पार्टीको जिल्ला कार्यसमितिको निमन्त्रणामा केन्द्रीय नेताहरु खटिएका हुन्।