सिमकोट।नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमीमा यस वर्ष चिनीयाँ दैनिक उपभोग्य सहित अन्य सामान आउन नपाउने भएको छ।
केही दिन अगाडी नाम्खा गाउँपालिका कै अन्य पाँच वटा वडाका लागि खाद्यान्न तथा लत्ताकपडा हिल्सा नाकाबाट आयात भएपनि लिमी आउने बाटोमा बरफ जमेको कारण उक्त सामान आउन नपाउने भएको हो।
पहिले चिनीयाँ पक्षले गाडीमा लोड भएको सामान लाप्चा हुदै लिमी ल्याउन नदिएको भएपनि अहिले लिमीबाट लाप्चा जाने बाटोमा बरफ जमेपछि बाटो बन्द हुदा सामान आउन नपाएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए।
लाप्चासम्म चिनीयाँ टिप्परमा सामान आएपनि त्यसयता नेपाली टिप्परमा उक्त सामान ढुवानी हुने गर्थ्यो। लिमीमा स्थानीयका केही चिनीयाँ टिप्पर रहेका छन्।
विगतका वर्षमा कार्तिक मंसीर महिनामा उक्त सामान लाप्चा नाकाबाट आउने गर्थ्यो। तर यस वर्ष लिमी ल्याउनका लागि ठिक्क पारिका उक्त सामान लोलुङजोङ बिबादको कारण चिनीया पक्षले ताक्लाकोटमै रोकेको थियो । यद्यपि असोज महिनामा केही खाद्यान्न भने चिनियाँ पक्षले सहयोग स्वरुप पठाएको थियो।
अहिले चिनीया पक्ष खरिद गरेको सामान दिन तयार भएपनि बाटो बन्द भएको कारण आउन नपाउने वडा अध्यक्ष तामाङले बताए। चीनबाट मैदा, तेल, चिया, चिसो पेय पदार्थ, कम्बल लगाएका सामानहरु आउने गर्थे।
अब ताक्लाकोटमा रहेको उक्त सामान आगामी जेठ वैशाखयता ल्याउन सम्भव छैन। चीनबाट खाद्यान्न नआउने अबस्था सृजना भएपछि खाद्य ब्यबस्था तथा ब्यापार लिमीटेड कम्पनीबाट लिमीका लागि एक हजार क्वीन्टल खाद्यान्न सिमकोटबाट ढुवानी भइ सकेको छ।