सुर्खेत । कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढी पहिरो पीडितलाई राहत वितरण गरेको हो ।
बाढी पहिरोमा परि धनमालसहित घरबार बिहिन भएको शुभकालिका गाउँपालिका–८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिएको छ ।
बाढीपहिरोमा परेका ८३ घरधुरीका ४४३ जना विस्थापित भएको उहाँहरुलाई खानेबस्नेको समस्या भएका कारणले खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए। ‘तत्कालका लागि ६०० बोरा चामल वितरण गरेका छौं ।’ उनले भने,‘वहाँहरुको अहिले पनि खानबस्नको समस्या रहेको छ ।’
गाउँपालिकामा ठुलो संख्यामा बाढीपहिरोमा परि घरबार बिहिन भएको अवस्था रहेको र त्यसको तथ्यांक संकलन गरेर घरबारबिहिनका लागि आवासको व्यवस्था गरिने अध्यक्ष चौलागाईले बताए । ‘अहिले तथ्यांक संकलन गरेर बास्तविक पीडितलाई आवासको व्यवस्था गर्ने तयारी थालेका छौं ।’ उनले भने ‘क्षतिको विवरण एकिन भएपछि आवास निर्माणका लागि तिनै तहका सरकार मिलेर काम गर्ने योजना रहेको छ ।’