मुगु । छायाँनाथ रारा नगरपालिका-८ झ्यारी गाउँमा एक महिनाको अवधिमा भालुले ५८ भेडा मारेको छ।
रारा राष्ट्रिय निकुञ्जमा रहेका भालुले झ्यारी गाउँका किसानका गोठमा पसेर एक महिनाभित्रै ५८ भेडा मारिदिएका हुन्। भालुले पशुवस्तु सखाप पारिदिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा आतंकित र आजित भएका छन।
गत मंसिर २१ गते छायाँनाथ रारा नगरपालिका-८, झ्यारी गाउँका भेडापालक रमेश रावलका ८ वटा भेडा मारेको हप्तादिनमै बुधबार राती भेडापालक हरिबहादुर विकका १४ वटा भेडालाई गोठमै पसेर भालुले मारिदिएको छ।
राती ११ बजेतिर भालु गोठमा पसेर भेडा मारेको थाहा भएको विकले जानकारी दिए। अरू भेडा कराएको सुनेपछि गोठमा जाँदा भालुले भेडा लगायत आफूलाई पनि घाइते बनाएको हरिबहादुरले बताए।
यस्तै, गत मंसिर ४ गते सोही वडाका भेडापालक पदम रावलका २४ र घुघुरे कामीका ५ गरी २९ भेडाबाख्रा पनि भालुले मारिदिएको थियो।
गत वर्षपनि गाउँमा भालुले आतंक मच्चाई भेडा मारेको स्थानीयले बताएका छन्। अघिल्लो वर्ष पनि भालुले १५ भेडा मारेको वडा अध्यक्ष कर्णबहादुर रावलले बताए।
१३२ घरधुरी रहेको झ्यारी गाउँका अधिकांश स्थानीयहरूको प्रमुख आयस्रोत नै भेडापालन हो। तर, कहिले भालु त कहिले अन्य वन्यजन्तुले आजित बनाउने र दु:ख दिने गरेको छ।
स्थिति यस्तै रहे अब पशुपालन व्यवसायबाटै अलग्गिनुपर्ने चिन्ता किसानहरूमा बढेको छ।