काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघीयता असफल भैसकेकोले अब नेपाली जनताले त्यसलाई खुर्केर फाल्ने दिन आइसकेको बताउनु भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा आइतबार भएको अनलाइन प्रशिक्षण कार्यक्रममा अध्यक्ष केसीले देशको तत्कालिक राजनीतिक अबस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
केसीले भन्नु भयो– ‘नेपालमा संघीयता असफल भैसकेकोले अब नेपाली जनताले त्यसलाई खुर्केर फाल्ने दिन आइसक्यो ।’
समसामयिक राजनीतिक बिषयमा चर्चा गर्दै केसीले देशमा भैरहेको पद र भागबण्डाको लुछाचुँडी, गुटगत स्वार्थका लागि वडाको चुनाबमा समेत हारेकाहरुलाई प्रतिनिधि सभामा मनोनित गरि सांसद बनाउनेदेखि लिएर व्यापक रुपमा मौलाउँदै गइरहेको भ्रष्टाचार, तस्करहरुलाई ठाउँ दिनु सरकारको गलत क्रियाकलाप भएको बताउनु भयो ।
सो प्रशिक्षण कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुन, मूल प्रवाहका कार्यबाहक महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य रामप्रसाद आचार्य, केन्द्रीय वैकल्पिक सदस्य फुलबिना पौडेल, सल्लाहकार धनबीर पुनले पनि अतिथीको आसन ग्रहण गर्नुभएको थियो ।
महिला नेतृ मिना पुनले महिलाहरुको हक अधिकारका बारेमा, साथै महिला उत्पिडन र महिला हिंसा बारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलले र सञ्चालन सचिव खिमबहादुर बिकले गर्नुभएको थियो । वीर शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात क्षेत्रीय समितिकी सदस्य मिना आचार्यले स्वागत मन्तव्य दिनुुभएको थियो ।
उक्त अनलाइन प्रशिक्षण कार्यक्रममा १०० जना भन्दा बढी प्रशिक्षार्थीहरुले भाग लिएका थिए । प्रशिक्षणको अन्तमा छलफल तथा प्रश्नोत्तर चलेको थियो, जसले कार्यकर्ताहरुलाई लागेको जिज्ञासा मेटाउनुको साथै प्रष्ट पार्न मद्दत मिलेको थियो ।