काठमाडाैं ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा १९ पेजको प्रतिवेदन पेस गरेपछि आफूलाई विभिन्न ठाउँबाट धम्की आएको बताएका छन् ।
मंगलबार नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय बैठकमा बोल्दै प्रचण्डले १९ बुँदे प्रतिवेदनपछि आफूलाई आतंकित पार्ने प्रयास भएको बताएका हुन् । ‘मलाई धेरै थरी धम्कीहरू आएका छन् । धेरै बचेर काम गर्न सुझाव दिएका छन् । १९ बुँदे लेखेपछि मलाई आतंकित पार्ने प्रयास भएका छन्’, उनले भने ।
अध्यक्ष प्रचण्डले आफू माधव नेपालको मोर्चामा नलागेको भए कमण्डलु बोकेर हिँड्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । आफूलाई पार्टीमा बोल्न पनि नदिएको उनको गुनासो छ । ‘माधव नेपालको मोर्चामा नलागेको भए त मैले बैठकमा बोल्न पनि नपाउने रहेछु । यो मोर्चा नबनेको भए मैले कमण्डलु बोकेर हिँड्नुपर्ने रहेछ’, उनले भने ।
उनले भोलिको बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुने सम्भावना रहेको उनले बताए । ‘वामदेव बैठकमा हामीसँग आउने पूरै सम्भवाना छ । कमरेड बादल भोलिबाट यो बैठकमा आउनुहुन्छ भन्ने मलाई विश्वास दिलाउनुभएको छ । यो हलले वामदेव र बादललाई यहाँ देख्न चाहेको छ’, उनले बैठकमा भने ।
प्रचण्डले पार्टीसम्बन्धी ४० पेजको नयाँ दस्तावेज बनाएको बताएका छन् । उनको उक्त दस्तावेज भोलि वितरण हुने बताइएको छ । प्रचण्ड र नेपाल समूहको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा अहिले चलिरहेको छ ।