काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संसद पुनर्स्थापनाको माग गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विषय अवैधानिक भएको भन्दै तत्काल पुनर्स्थापना गर्न माग गरेका हुन् । उनले भने, ‘संसद्को जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौँ । हाम्रो माग छ संसद्को पुनर्स्थापना गर्नुपर्छ ।’
महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद् विघटनलाई समर्थन गर्यो भने पनि आफूहरूले संघर्षलाई जारी राख्ने बताए । ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भने पनि हाम्रो संघर्ष रोकिन्न’, उनले भने, ‘हामीले फेरि देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’
महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरे । तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृषिकोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको उनले बताए । पार्टीभित्रको द्वन्द्वले संसद् विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भीर स्थिति सिर्जना भएको समेत टिप्पणी गरे । नेकपाको अन्तर्कलहका कारण राजावादीको सक्रियता बढेको समेत बताए ।
‘देशमा राजावादीहरू सडकमा आइराखेका छन्, राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्र बनाउनको लागि त्यसले गर्दाखेरी गणतन्त्रलाई कमजोर पार्नुपर्छ भनेर राजावादीहरू सक्रियता बढाइरखेका छन् । गणतन्त्रका पक्षधर शक्तिहरू आपसमा लडिरहेका छन्’ उनले भने, ‘यसले गर्दा गणतन्त्रको पक्ष निकम्मा हुन्छ । यिनको बीचको एकता खाली पार्टीको एकता मात्रै होइन, उनीहरूको बीचको झगडा मात्रै होइन । यो सम्पूर्ण देशको राजनीतिमा नराम्रो असर पार्छ भनेर हामीले भनेका थियौँ । अहिले त्यो प्रष्ट भएको छ ।’