काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।
सर्वोच्चमा परेका ११ वटा रिटमाथि बुधबार भएको सुनुवाईपछि सबै मुद्दा संवैधानिक इजलासमा लगिने भएको हो ।
सुनुवाईमा रिट निवेदकका तर्फबाट भएको बहसपछि संवैधानिक इजलासमा लैजाने आदेश दिइएको हो ।
प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको एकल इजलासमा सुनुवाईपछि अन्तरिम आदेश भने दिइएको छैन । संवैधानिक इजलास १० पुसमा तोकिएको छ । संवैधानिक इजलास प्रधानन्यायाधीसको नेतृत्वमा तोक्ने व्यवस्था छ ।
निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले अन्तरिम आदेश जारी गरेर बृहत इजलासले विवादको टुंगो लगाउनुपर्ने जिकिर गरेका थिए ।
प्रधानन्यायाधीस राणाले विपक्षीको समेत बहस सुन्नुपर्नेद भन्दै अन्तरिम आदेश जारी नगरी संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।