सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय नेताहरु जिल्ला दौडाहमा निस्किएका छन् ।
ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेत र प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य निरज आचार्य र विष्णु रिजाल पनि सुर्खेत पुगेका छन् । यस्तै, रामदीप आचार्य पनि सुर्खेत हुँदै जाजरकोट लागेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि आइतबार मात्रै सुर्खेत पुगेर सोमबार गृह जिल्ला कालीकोट जाने कार्यक्रम रहेको छ ।
सुर्खेत पुगेका प्रचण्ड–नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीको समूह वर्तमान संविधान र संघीयताविरुद्ध लागेको आरोप लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको भन्दै संघीयताको रक्षाका लागि फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रेस संगठनको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा उनीहरुले सबै कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमत रहेकाले आफूहरु नै आधिकारिक र संस्थापन नेकपा पार्टी हुने समेत दाबी गरे । प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य एवम विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप लगाए । संसदमा पर्याप्त बहुमत हुँदा हुँदै पनि एकलौटी रुपमा संसद विघटन गरेर संविधान र संघीयतामाथि प्रहार गरेको उनको आरोप छ ।
चिनियाँ टोली नेपाल आएको प्रसंगबारे उठेको प्रश्न दिँदै उनले चिनियाँहरुले नेकपा एकीकृत रहोस् भन्ने चाहेको भन्दै रिजालले यसलाई चीनले नेपालको राजनीतिमा खेलेको भन्दा पनि सद्भावका रुपमा लिनुपर्ने बताए ।
‘दक्षिणतिरबाट योबीचमा लगातार सरकारका मान्छे आएका छन् । योबीचमा केही देखिने र केही नदेखिने भ्रमणहरु भारतबाट भएका छन् । कतै त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ? भन्ने आशंका पनि छन्,’ उनले भने, ‘अहिलेको संसदले नेपालको भूमिमाथिको अधिकार स्थापित ग¥यो र यो संसद भारतलाई मन नपरेका कारण तिनीहरुकै कारण यस्तो कदम चालिाएको त होइन भन्ने प्रश्न स्वभाविक छ ।’
अर्का केन्द्रीय सदस्य निरज आचार्यले आधिकारिक पार्टी प्रचण्ड–माधव नेपालकै हुने भन्दै अब केपी ओली समूहले पार्टी र चुनाव चिह्नमाथि दावी गर्ने कुनै नैतिक अधिकार नभएको बताए । ‘पार्टी कार्यालय जलाउँछौं, कब्जा गर्छौं भनिरहेको हामी सुनेका छौं,’ आचार्यले भने, ‘यस्तै हो भने अब उनीहरुको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट हुन्छ ।’
मंगलवार हुने आन्दोलनको तयारीका लागि नेताहरु सुर्खेत पुगेका हुन् । रिजाल र आचार्य दुवैजना माधव नेपाल निकट हुन् ।