धनगढी। नेकपा प्रचण्ड-माधव नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कर्तव्यच्युत भएकाहरू पनि गुलियो चाट्नका लागि मन्त्री भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव नेपाल समूहले केपी ओली नेतृत्वको सरकारका असंवैधानिक कदमविरुद्ध आयोजना गरेको विरोध कार्यक्रमअन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संसद् विघटनको विरोध धनगढीमा आयोजना गरेको विरोधसभामा बोल्दै उनले भने, ‘प्रतिनिधिसभा सदस्यसमेत नरहेका कतिपय व्यक्तिहरू गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएका छन् ।’ उनले वर्तमान सरकारले कतिपय व्यक्तिलाई चोरलाई साँचो दिएजस्तो गरी मन्त्री पद दिएको टिप्पणी गरे ।
नेता रावलले वर्तमान सरकारले देशभक्तिको ठूल्ठूला कुरा बोल्ने गरे पनि व्यवहारमा भने कमजोर रहेको टिप्पणी गरे । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रधानमन्त्रीले बाध्य भएर प्रकाशित गरेको उनले बताए ।
‘नक्सा किन चाहियो ? नक्सामा चुच्चे भूमि राख्नै पर्छ र ? भनेर उहाँले प्रश्न गर्नुहुन्थ्यो’, रावलले भने, ‘हामीले सदन र देशभक्त जनताले सडकबाट दबाब दिएपछि मात्रै उहाँले बाध्य भएर नक्सा प्रकाशित गर्नु भएको हो ।’
नेता रावलले प्रधानमन्त्री ओलीमाथि प्रतिनिधिसभा विघटन गरेर जनमत कुल्चिएको आरोप लगाए । शहीदको रगत, पसिनाको बलमा संविधानसभाबाट बनाइएको संविधानलाई ओली नेतृत्वको सरकारले कुल्चिएको उनको भनाइ थियो ।
संसद् विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले धनगढीमा विरोध प्रदर्शन आयोजना गरेको हो । सोही क्रममा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सरकार र प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।