सुृखेत। कर्णाली प्रदेश सरकारले कर्णालीका मुगु, जाजरकोट, कालीकोट डोल्पा र हुम्ला जिल्लामा ७०२ घर बनाउन एकीकृत बस्ती निर्माणका लागि २३ करोड ३० लाख रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । बाढीपहिरोपीडित र घरबारविहीन भएका लागि एकीकृत बस्ती विकास कार्याक्रमअन्तर्गत घर बनाउनका लागि रकम निकासा गरेको हो ।
एकीकृत बस्ती निर्माणका लागि मुगुको खत्याड गाउँपालिका- ८ र १० मा २०७६/०७७ एकीकृत बस्तीको अधुरो आयोजनाका लागि दुई करोड, जाजकोटको जुनीचाँदे गाउँपालिका–७ मा २०७६/०७७ एकीकृत बस्तीको अधुरो आयोजनाका एक करोड, कालीकोटको रास्कोट नगरपालिका–७ मा एकीकृत बस्तीका ९० घर बनाउनका लागि ५ करोड, डोल्पा मुड्केज्युला गाउँपालिका–१ मा ३२ घरधुरीका बाढी पीडितका लागि करोड ३० लाख, जाजरकोटको बारेकोट गाउँपालिकामा २०७७ सालमा गएको बाढीपहिरोपीडित २ सय घरधुरीको व्यवस्थापनका लागि दुई करोड र हुम्लाको ताजाकोट गाउँपालिका–३ मा ३८० घरधुरीमा एकीकृत बस्ती निर्माणका १० करोड रुपैयाँ निकासा गरेर सम्बन्धित स्थानीय तहलाई हस्तारण गरेको छ ।
त्यस्तै, एकीकृत बस्ती निर्माणका लागि तोकिएको स्थानका लागि २ करोड रुपैयाँ मुख्यमन्त्रीको कार्यालयमा राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
एकीकृत बस्तीको घर बनाउँदा स्थानीय जीविकोपार्ज अवस्थालाई मध्यनजर गरेर बनाउन मापदण्डसमेत तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव हेमबहादुर रानाले बताए । ‘एकीकृत नमुना बस्तीका रूपमा बन्ने घरहरू सात जनाको परिवार आवासको सुविधा पुग्ने गरेर बनाइनेछ,’ उनले भने, ‘यी घर बनाउँदा प्रतिघर पाँच लाखभन्दा बढी रकम उपलब्ध गराइने छैन ।’
आयोजनाको अवस्थाका विषयमा स्थानीय तहमा रकम हस्तान्तरण गरिएको भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियमित अनुगमन र आयोजनाको काम नियमित रूपमा गर्नका मासिक रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनिवार्य जानकारी गराउनुपर्ने उपसचिव रानाले बताए ।
हुम्लामा जनता आवासका घर प्रयोगविहीन
हुम्ला जिल्लामा दलित तथा अल्पसंख्यक समुदायका लागि सरकारको अनुदानमा निर्माण गरिएका जनता आवासका घरहरू प्रयोगविहीन भएका छन् । संघीयता लागू हुनुभन्दा अघि हुम्लाभरी तीन सय २५ वटा घरहरू जनता आवास कार्यक्रमअन्तर्गत बनाइएका छन् ।
यी घरहरूमा ५० प्रतिशत घरहरूको उपयोग भए पनि ५० प्रतिशत घरहरू प्रयोगविहीन भएको नेपाल पत्रकार महासंघ, हुम्ला शाखाका पूर्वअध्यक्ष कर्णबहादुर रोकाया बताए ।