सुर्खेत । विश्वले संचार क्षेत्रमा यति ठूलो फड्को मारिसकेको समयमा अझैँ पनि कर्णालीका दुर्गम जिल्ला भने टेलिफोन र इन्टरनेटको सहज पहुँचबाट बाहिर छन् । कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, मुगु, जाजरकोट, कालिकोट, दैलेख र सल्यान जिल्लाका अधिकांश पालिकामा हालसम्म पनि गतिलोसँग टेलिफोन र इन्टरनेटको पहुँच देखिँदैन ।
यहाँ रहेको एउटा गाउँपालिका पनि इन्टरनेट र टेलिफोन सेवाको पहुँचबाट टाढा छ । पालिकावासी हालसम्म टेलिफोन र इन्टरनेटको सेवाबाट बञ्चित छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेका कार्यालय र अन्य दर्जनौँ वस्तीमा रहेका स्थानीयवासीहरू टेलिफोन र इन्टरनेटविहीन हुँदा गाउँपालिकाको नियमित कामकाज गर्नसमेत निकै सास्ती खेप्नुपरेको स्थानीयले बताए ।
नेपाल टेलिकमले संचार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच बढाए पनि कनकासुन्दरी गाउँपालिका भने संचार क्षेत्रको पहुँचमा शून्य बराबर रहेको छ ।
कनकासुन्दरी गाउँपालिका रहेको स्थान र आसपासमा रहेका दर्जनौँ वस्तीहरूका लागि टेलिफोन र इन्टरनेट व्यवस्थापनका लागि क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालयमा आफैँ पुगेर धेरै पटक टेलिकमका कर्मचारीहरूसँग बसेर मौखिक तथा लिखित पहल गरे पनि हालसम्म कुनै पनि सुनुवाइ नभएको कनकासुन्दरी गाँउपालिकाका अध्यक्ष नरवीर रावतले जानकारी दिए ।
यता, नेपाल टेलिकमले कनकासुन्दरी गाउँपालिका वडा नम्बर– ६ विराटमा नेपाल टेलिकमको थ्रीजीसहितको सेवा दिने गरी टावर संचालन गर्ने भनेर तीन वर्षअघि नै ठेक्का गरे तापनि हालसम्म टावर निर्माणको काम अगाडि नबढेको र लाखौँ मूल्यका सामानहरू ल्याइए तापनि छताछुल्ल अवस्थामा रहेको अध्यक्ष रावलले जानकारी दिए ।
सो क्षेत्रमा बस्ने २ हजार २ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना स्थानिय बासीहरू संचार बिहीन भएका छन । घर बाहिर गएका आफ्ना आफन्त लाई सम्पर्क गर्न खोज्दा र नेपालमा भईरहेका राजनीतिक अवस्था र अन्य सुचना सन्देश हेर्न लाई फेसबुक खोल्यो उहि सेवा दिन नपाउदा आफुलाई दुःख परेको कनकासुन्दरी गाउपालिका वडा नं ५ का स्थानीय कल बहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार आफन्तहरूलाई फोन गर्न परेको डाडाकाडा,रुख चडेर ,२,३घण्टा टाढा गएर फोन सम्र्पक गर्नु परेको छ ईन्टरनेटको सेना कहिले हो भन्दै स्थानिय बासिहरूको गुनासो रहेको छ ।