जुम्ला । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी ८ वटा स्थानीय तह छन् । ८ स्थानीय तहमध्ये तीन गाउँपालिकाको प्रमुखरउपप्रमुख दुवै पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने चार गाउँपालिकामा नेकपाका प्रमुखरउपप्रमुख जनप्रतिनिधि थिए । चन्दननाथ नगरपालिकामा भने प्रमुख नेपाली काँगे्स र उपप्रमुख नेकपा जनप्रतिनिधि छन् ।
सत्तारुढ दल नेकपाका नेताहरु दुई खेमामा विभाजित भएपछि तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले मात्र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली खेमामा लागेका छन् ।
उनी तत्कालीन नेकपा एमालेमा हुँदापनि ओली धारमै थिए । अध्यक्ष योगी संसद विघटनपछि भएको केन्द्रीय समिति विस्तारमा सदसयमा पनि परेका छन् ।
नेकपाको तर्फबाट गुठीचौर गाउँपालिकाको प्रमुखमा हरिबहादुर भण्डारी, उपप्रमुखमा जानदेवी ऐडी, हिमाको प्रमुखमा रजबहादुर शाही, उपप्रमुखमा हिमाली रोकाया, तातोपानीको प्रमुखमा नवराज न्यौपाने, उपप्रमुखमा गंगादेवि उपाध्याय, र तिला गाउँपालिकाको प्रमुखमा रतननाथ योगी उपप्रमुखमा विष्णु बुढा निर्वाचित जनप्रतिनिधि हुन् ।
यस्तै चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पनि नेकपा तर्फबाट अप्सरादेवी महत निर्वाचित छन् । चन्दननाथ नगरपालिकाको प्रमुखमा कान्तिका सेजुवाल र कनकासुन्दरी गाउँपालिकाको प्रमुखमा नरविर रावत, उप्रमुखमा उर्मिला भण्डारी, सिंजा गाउँपालिकाको प्रमुखमा देवलसिंह रावल, उप्रमुखमा जन्मकन्या खत्री, पातारासी गाउँपालिकाको प्रमुखमा लछिमन बोहरा, उप्रमुखमा पुन्नकली महतारा दुवै पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
हिमाका ६ वडाध्यक्ष प्रचण्ड–नेपाल खेमामा
जुम्लाको सिंजा भेगको हिमा गाउँपालिका ७ वडामा विभाजित छ । ७ वडामध्ये ५ नम्बर वडामा मात्रै नेपाली कांग्रेसबाट निर्वाचित छन् । अन्य सवै वडा नेकपाकै तर्फबाट निर्वाचित वडाध्यक्ष छन् ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित यहाँका ६ वडाका वडाध्यक्ष प्रचण्ड–नेपाल खेमामा लागेका छन् ।
ओलीले संविधान विपरित संसद विघटन गरी आमजनतालाई भड्खालोमा हालेको भन्दै प्रचण्ड नेपाल पक्षमा रहेर खबरदारी गर्दै आएको उनले दाबी गरे ।