प्रतिनिधि सभा विघटनको विरुद्धमा लेखक–कलाकारहरू सडकमा ओर्लिएका छन् ।

प्रगतिशील लेखक सङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ र जनसांस्कृतिक महासङ्घसम्बद्ध लेखक–कलाकारहरू २०७७ पुस २६ गते माइतीघर मण्डलामा ओर्लिएर विरोध व्यक्त गरेका हुन् ।

कार्यक्रमको सञ्चालन गर्दै प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले प्रगतिशील लेखक–कलाकारहरूले खालि कविता, कथाजस्ता साहित्य लेख्ने मात्रै सीमित रहने होइन, परिस्थितिअनुसार सडकमै ओर्लिएर विरोध व्यक्त गर्ने गरेको बताए।

महासचिव सिंहले लेखक–कलाकारहरू परिस्थितिअनुसार कहिले कलमको मोर्चाबाट त कहिले सडकमै ओर्लिएर विरोध प्रदर्शन गर्ने परम्परानुसार अहिले ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको र आगामी दिनमा पनि यो सिलसिला यथावत रहने बताएकाछन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने घोषणा आफ्ना लागि अकल्पनीय भएको बताए ।
उपाध्यायले प्रधानमन्त्री ओलीले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेकाले प्रतिनिधि सभा नै विघटन गरिहाल्लान् भनेर आफूले नचिताएको बताउँदै त्यसको सशक्त विरोध आवश्यक रहेको बताए।

त्यसैगरी, प्रलेसका पूर्व केन्द्रीय सचिव पुण्य गौतमले पनि ओलीको जनविरोधी संसद विघटनका विरुद्ध लेखक–कलाकारहरू अग्रपङ्क्तिमा रहेर विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा कविता र गीतमार्फत पनि ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको थियो ।

त्यस क्रममा बम बानियाले ‘जोक्कर महाराज” शीर्षकको कविता प्रस्तुत गरेका थिए भने केशव सिलवालले ‘छुच्चो बादशाह’ शीर्षकमा कविता सुनाएका थिए ।
एवम् प्रकारले चेतनाथ धमलाले ‘रामशाहपथको अज्ञात घरबाट’, चीनका लागि पूर्व राजदूत डा. महेश मास्केले ‘एक्काइसौँ शताब्दीको बादशाह र नयाँ लुगा’, बाबा बस्नेतले ‘जङ्गबहादुर’, पारस ढकालले ‘प्रतिगमन मुर्दावाद’ र भीमा गौतमले ‘आगोको रगत’ शीर्षकको कविता वाचनगरेका थिए ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले ‘छोड छोड साम्राज्यवाद’ र जनगायक प्रदीप देवानले ‘रक्तक्रान्तिको’ शीर्षकको गीत प्रस्तुत गरेका थिए ।