काठमाडाैं । काेराेना महामारीले विश्व फिल्म बजारलाई अस्तव्यस्त बनाएको छ ।
हलिउड/बलिउड जस्ता ठूला फिल्म उद्योग कोरोनाको चपेटामा परेका छन् । यसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन ।
सात महिनादेखि सिनेमा हलमा ताला लागेका छन् । फिल्म निर्माण पनि भएको छैन । जसको प्रत्यक्ष असर दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने फिल्म प्राविधिकलाई भएको छ । निषेधाज्ञा खुकुलो भएपछि सरकारले भीडभाड हुने विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध कायमै छ । सबैभन्दा चाँडो संक्रमण फैलिने क्षेत्र भएकाले सरकार तत्काल फिल्म सम्बन्धि गतिविधि खुल्ला गरेर जोखिम उठाउने पक्षमा छैन ।
फिल्मकर्मीहरु भने निर्देशिका बनाएर फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिनुपर्ने माग गरिरहेका छन् । दशैंअघि सरकारले कोरोनाका कारण बन्द रहेका क्षेत्र खोल्ने तयारी गरेपछि हल सञ्चालकको मुहारमा खुसी छाएको छ । यो खबरले छायांकन अनुमतिको प्रतिक्षामा रहेका निर्माताहरु पनि खुसी देखिएका छन् । अभिनेता रमेश उप्रेती भने तत्काल सिनेमा हल खोल्नु भनेको दिवा सपना देख्नु रहेको बताउँछन् । यो अवस्थामा हल खोलेर दर्शक फिल्म हेर्न नआउने उनको तर्क छ ।
सिनेमा हल खुलेको भरमा निर्माताले करोडौंमा बनाएको फिल्म रिलिज नगर्ने बताउँदै उनले भने- ‘फिल्म क्षेत्र चलायमान बनाउने हो भने सरकारबाट विशेष सहयोग हुनुपर्छ । हलवाला र वितरकले एमजी दिनुपर्छ । होइन भने करोडौंमा बनाएको फिल्म हल खुल्न साथ निर्माताले रिलिज गर्छन् जस्तो मलाई लाग्दैन । यो अवस्थामा दर्शक हलमा आउँछन् भन्नेमा पनि म विश्वस्त छैन ।’ हल खोलेर मात्र समस्याको समाधान नहुने उनी बताउँछन् । यसका लागि चलचित्र विकास बोर्डले सम्बन्धित क्षेत्रमा पहल गरेर योजना बनाउनु पर्ने उनको सुझाव छ । विना योजना हल खोल्नु भनेको निर्माता डुबाउनु रहेको उनले बताए । ‘अहिले होटल खोल्दैमा पर्यटक आउँँदैन भने झैँ हलमा पनि दर्शक आउँँदैनन् । यसका लागि सबै पक्ष बसेर पूर्वधार तयार गर्नुपर्छ,’ उनले भने । अभिनेता रमेश अगाडि भन्छन्, ‘कोरोनाका कारण अहिले धेरैलाई गाँस, बाँस र कपासको समस्या भएको छ । यो अवस्थामा मनोरञ्जन पहिलो प्राथमिकतामा पर्दैन । पहिला आफ्ना आवश्यकता पूर्ति भएपछि दर्शकले मनोरञ्जन लिने हुन् । त्यसैले अहिले हल खोलेर फिल्म हेर्न दर्शक आउँछन् भन्नु दिवा सपना झैँ हो ।’ हल खोल्नका लागि स्थिति सामान्य हुनुपर्ने उनको तर्क छ । पछिल्लो पटक फिल्म ‘ऐश्वर्य’ मा देखिएका उनी लकडाउनभन्दा अगाडि एक फिल्मको तयारीमा थिए । फिल्मका लागि निर्देशक समेत फाइनल भइसकेका छन् । कोरोनाका कारण दशैंभित्र फिल्मको छायांकन पूरा गर्ने योजना अधुरै रहेको उनी बताउँछन् । अब कोरोना महामारी पूर्ण रुपमा अन्त्य भएपछि फिल्म निर्माण गर्ने उनले बताए । फिल्म बदलाको कथामा निर्माण हुनेछ ।