रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
सुनवल ५ का ७६ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि असोज १५ गते स्वाब पठाई पीसीआर परीक्षण गरिएकोमा १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
उनको आज बिहान १२ः ५० बजे मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताए ।
त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गर्दा पोजिटिभ रिपोर्ट आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको डा. गौतमले बताए ।
उनका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।