सुर्खेत । नेपाली कांग्रेसका युवा नेता एवं जाजरकोट जिल्लाका पूर्वसभासद राजीवविक्रम शाहले सोती घटनाका पीडित परिवारलाई राज्य र पीडक पक्षले विभिन्न प्रलोभन दिई प्रभावित पारेकाे बताएकाछन् । शाहले पीडितलाइ भेटेर आएपछि बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यसताे आरोप लगाए ।
प्रजातान्त्रिक महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले साक्षीलाई समेत कसैलाई मोटरसाइकल त कसैलाई आर्थिक प्रलोभन दिएर मुद्दा कमजोर पार्ने काम भइरहेको उनले बताए । ‘मैले पीडित पक्षलाई भेट्दा यसमा सत्तामा रहेका व्यक्तिहरु नै पीडितलाई न्याय दिनुका साटो झन् पीडा दिन लागिरहेको पाएको छु,’ उनले भने, ‘तर मृतकका परिवारहरुले अदालतबाट न्याय पाउने आश मारेका छैनन् ।’ घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई सरकारले ११ लाख रुपैया“ दिने निर्णय गरेको छ । संघीय सरकारले १० लाख र प्रदेश सरकारले १ लाखको दरले राहत दिने निर्णय गरे पनि पीडितले आर्थिकभन्दा न्याय खोजिरहेको उनले बताए ।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोतीमा भएको घटनाको विषयमा अहिले उच्च अदालत सुर्खेतमा बहस चलिरहेको छ । अदालतमा वादी र प्रतिवादीको तर्फबाट दुई छुट्टाछुट्टै रिट परेका छन् । जिल्ला अदालत रुकुमपश्चिमले ३४ जनामध्ये ४ जनालाई धरौटीमा छोड्नुका साथै ३० जनालाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । दुबै पक्षले फैसलामा चित्त नबुझाएर हेरफेर गरिपाउ“ भन्दै निवेदन दिएका छन् । प्रतिवादी पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले बिहीबार प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको बताए । उनका अनुसार वादीको शुक्रबार बहस हुनेछ । सोती घटनामा जाजरकोटका नवराज विकसहित ६ जना युवाको मृत्यु भएको थियो ।