सुर्खेत । कर्णाली प्रदेशमा हालसम्मकै उच्च एकसय १६ जनामा कोरोना पुष्टि भएको छ । विगतमा एकसय १४ जनासम्म कोरोना पुष्टि भएपनि पछिल्लो २४ घण्टामा संक्रमितको संख्या उच्च रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
प्रदेश अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ३२, दैलेखमा चार, चौरजहारीमा तीन र कर्णाली प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक जना छन् ।
कोरोना पुष्टि हुनेमध्य जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ७९ जना छन् । दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई/दुई, डोल्पा र मुगुका एक/एक तथा अन्य प्रदेशका सात जना छन् ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ६८ पुगेको छ । जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्ट भने कर्णालीमा समावेश नगरिएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए । हालसम्म आरटीपीसीआर विधिबाट कर्णालीमा ७९ हजार दुई सय ५७ जनाको परीक्षण गरिएको छ ।