सुर्खेत ।मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलको लयर्स समूह ६९, सुर्खेतको संयोजकमा कविता खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न संस्थाको सत्ताइसौं वार्षिक साधारणसभाले यस अघि उपसंयोजक रहेकी खड्काको नेतृत्वमा ९ सदस्यीय कार्य समितिलाई निर्विरोध निर्वाचित गरेको हो ।
निर्विरोध निर्वाचित हुने अन्य पदाधिकारीमा दुर्गाप्रसाद शर्मा उपसंयोजक, ध्रुवबहादुर सिंह सचिव, सागर खड्का सहसचिव र गिता बम कोषाध्यक्ष रहनुभएको छ । त्यस्तै सदस्यहरुमा जगतदल जनाला वि.क., दिपक बुढा, विवेक खनाल र सृजना जि.सी. पनि निर्विरोध निर्वाचित भएको संस्थाका निवर्तमान संयोजक हरिलाल खड्काले जानकारी जनाएकाछन्।
वार्षिक साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय महासचिव कर्ण कुँवरले एम्नेस्टी एक अभियानमूलक संस्था भएकाले मानव अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय स्तरमा पनि समूहहरुको भूमिका महत्वपूर्ण हुने हुँदा सबैलाई मानव अधिकारको अभियानमा सक्रियताका साथ संलग्न हुन अनुरोध गेरका थिए ।
त्यस्तै एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य गोविन्द वाग्लेले अहिलेको कोरोना महामारीको समयमा मानव अधिकार हननका घटनाहरु बढ्दै गएको बताउँदै यस्तो विसम परिस्थितिमा काम गर्न केही असहज हुने भएपनि त्यसका बाबजुद पनि एम्नेस्टीका अभियान्ताहरु सक्रिय रहनुपर्ने बताए ।
एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतका संयोजक हरिलाल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समूहका पूर्व संयोजक देवेन्द्रकुमार सेजुवाल, समूह २ का संंयोजक भरत पन्त, काँक्रेविहार युथ नेटवर्कका संयोजक महेन्द्र विक्रम खड्का लगायतले आ–आफ्नो भनाइ राखेका थिए।