धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरा बर्खास्तीमा परेका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहोरालाई मंगलबार पदमुक्त गरेका हुन् । मन्त्री बोहोरालाई पदमुक्त गरिएको व्यहोरासहितको पत्र बुझाइ सकिएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
‘उहाँ (मन्त्री बोहोरा)लाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको व्यहोरासहितको पत्र बुझाइसकिएको छ,’ मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओलीले भने ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका हुन् । बर्खास्तीमा परेका बोहोरा भने प्रधानमन्त्री एवम् नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका केपी शर्मा ओली निकट मानिन्छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा ओली समूहका बोहोरा एक्ला मन्त्री थिए । बोहोरालाई नेकपाको सुदूरपश्चिम इञ्चार्ज एवम् स्थायी कमिटी सदस्य भीम रावलको दवावमा पदमुक्त गरिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत आइतबार (पुस ५ गते) राष्ट्रपति विदादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा २ समूहमा विभाजित भएको छ ।
एउटा समूहको नेतृत्व प्रधानमन्त्री समेत रहेका ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले गरिरहेका छन् ।
केन्द्रमा विभाजित भएको नेकपा प्रदेश र स्थानीय तहमा समेत विभाजित हुँदै गएको छ । जसको असर प्रदेश सरकारमा समेत देखिँदै गएको छ ।
केही दिन अगाडि मात्रै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–नेपाल समूहका भनिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोलाई बर्खास्त गरिदिएका थिए । त्यसपछि आङ्बोकै नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि प्रचण्ड–नेपाल समूहका प्रदेश सभा सदस्य (सांसद)हरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।