सुर्खेत । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ दार्मा (साविकको दार्मा गाबिस–३)मा जन्मिएका गणेश देवकोटा(२६) १० महिनाको हुँदा दुबै आँखा गुमाए । सानै उमेरमा आँखाको ज्योती गुमाएका देवकोटा अहिले सानो ठिमी भक्तपुर क्याम्पसबाट स्नाकोत्तर पास गरेका छन् ।
दृष्टीबिहिन देवकोटा हुम्ला दार्मा गाउँका स्नाकोत्तर गर्ने पहिलो हुन् ।
अन्धविश्ववासका कारणले आँखा गुमाए
बुवा काशीदक्त देवकोटा र आमा काली देवकोटाका चार दिदिबहिनी र २ दाजुभाई मध्ये माइलो सन्तान हुन देवकोटा । जन्मेको दश महिनामा नै देवकोटालाई आँखा पाक्ने रोग लाग्यो ।
आँखा पाक्ने रोग लागेका देवकोटालाई उनका आमाबुवाले शहर बजारमा औषधी मुलो गराउन नसक्दा गाउँमा नै धामीझाक्री गर्दा दुबै आँखा गुमाएको देवकोटा बताउँछन् । ‘मेरो परिवार अति नै गरिबी थियो ।’ उनले भने,‘अशिक्षित आमाबुवाले शहर बजारमा औषधी उपचारभन्दा गाउँकै धामीझाक्रीको विश्वास गरे । मेरो आँखाका ज्योती त्यति नै बेला गुम्यो ।’
गाउँमा हेय हेर्न थालेपछि इख पलायो
दुर्गम हुम्लामा जन्मिएका देवकोटाको सानै उमेरमा दुबै आँखा गुमाएर अन्धकार बाँचेका उनी उज्यालोको खोजीमा गाउँको स्कुलमा काठको कालोपाटी बोकेर जान थालेँ । कालोपाटीमा माटोको अक्षरमा लेख्न थालेपछि उनलाई उनका साथीभाई ‘काने’ भनेर जिस्काउथे । काने भनेर जिस्काउनमा गाउँका प्रधानपंच र गाउँका अध्यक्ष धनीमानीका छोरा नै थिए ।
धनीमानीका छोराले काने भनेर जिस्काउन थालेपछि उनमा रिसको पारो चढ्यो र गाउँका प्रधानपंच कालीबहादुर शाहीको छोरालाई आफुले कुटेको त्यसको परिमाणमा शाहीले आफ्नी आमालाई कुटेको देवकोटाले सुनाए । ‘मलाई स्कुलमा काने भनेर साथीहरुले जिस्काउन थाले । एक दिन प्रधानपंच कालीबहादुरको छोराले त्यसरी जिस्कायो । मैले उसलाई ढुङ्गाले हानेछु ।’ उनले भने,‘त्यसपछि घरमा कालीबहादुर लगाएतका गाउँले आएर आमालाई कुटे । त्यो दिनदेखि मैले स्कुल जान नै छाडेँ ।’
स्कुल छाडेँपछि देवकोटाले गाउँमा हिड्ने गीत गाउने गर्न थाले ।
मेरो भगवान बनेर शेरबहादुर अंकल आए
म स्कुल छाडेर गाउँमा डुलिरहने कहिलेकाही विवाह पार्टीमा गित गाउँने गरेको देवकोटा सुनाउँछन् । ‘मलाई साथीहरुले जिस्काउन थालेपछि गाउँमा नै गीत गाउँथे ।’ उनले भने,‘कहिलेकाँही विवाह पार्टी रत्यौलीमा गीत गाउन न गणेश भन्थ्ये मेरो श्वर राम्रो भएकाले गीत गाइरहन्थे ।’
जिल्ला वन कार्यालयमा कार्यरत रहेका जुम्ला नराकोटका शेरबहादुर रोकायाले २०५७ साल मंसिरमा एउटा विवाहमा गीत गाउँदै गरेको अवस्थामा आफुलाई भेटाएको देवकोटाले बताए । ‘विवाहमा गीत गाउँदै थिए । शेरबहादुर अंकलले मलाई मादल किनिदिउँ कि स्कुल पढ्ने इच्छा छ भनेर मलाई सोध्नुभयो ।’ उनले भने,‘मैले स्कुल पढ्ने इच्छा गरेपछि त्यसको प्रबन्ध वहाँले मिलाउनुभयो ।’
२०५७ सालमा शेरबहादुर अंकलले भेटाएपछि त्यसको एक वर्षपछि २०५८ साल मंसिरमा जुम्लाको नराकोटमा भैरव माध्यमिक विद्यालयमा आफुलाई पढ्ने व्यवस्था शेरबहादुर अंकलले मिलाई दिएको देवकोटा बताउँछन् । ‘मलाई शेरबहादुर अंकलले जुम्लाको भैरव माध्यमिक विद्यालयमा पढ्ने व्यवस्था मिलाई दिनुभयो ।’ उनले भने,‘वहाँ त मेरो भगवान बनेर आउनु भयो ।’
जुम्लाको भैरव माध्यमिक विद्यालयबाट कक्षा १२ पास गरेपछि शेरबहादुर अंकलकै सल्लाहमा उच्च शिक्षा पढ्नका लागि सानो ठिमी क्याम्पस भक्तपुर पढ्न गएको देवकोटाले बताए ।
आँखा देख्ने भएको भए गाउँमा नै हलो जोत्थे होला
दुबै आँखाको ज्योती गुमाएका देवकोटालाई कुनै पनि आत्मग्लानीको भाव छैन् । ‘गाउँका सबै आँखा देख्नेहरु अहिले कोही गाउँमा नै हलो जोत्छन् कोही भारतमा चहार्छन कोही झैझगडा गरेर बस्छन् ।’ उनी उत्साहित हुदैँ भन्छन्,‘मैले अन्धा भएर स्नाकोक्तर पास गरे । देशको सेवामा केही गर्ने सोच पलाएको छ ।’
आँखा देख्ने भएको भएर विगतको द्धन्द्धमा आफु मारिने वा अरु केही हुन सक्ने उनी बताउँछन् ।
दृष्टीबिहिनलाई शिक्षित बनाउने योजना छ
आफु दृष्टीबिहिन भएका कारणले दृष्टीबिहिनलाई शिक्षा दिने आफुले सोच बनाएको देवकोटाले बताए । ‘म एउटा दृष्टीबिहिन भएका कारणले कर्णालीका दृष्टीबिहिनलाई शिक्षित बनाउने सोच बनाएको छु ।’ उनले भने,‘त्यसका लागि सबैको साथ र सहयोग चाहिन्छ ।’
सबै दृष्टीबिहिन बालबालिकाले अहिले शिक्षा पाउन नसकेका कारणले समस्या भएको त्यसका लागि कुनै दाताहरु मिले आफुले दृष्टीबिहिनका स्कुल खोल्ने सोच बनाएको देवकोटाले बताए ।
गणेशका बिषयमा के भन्छन् शेरबहादुर ?
हाल कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी रुपमा कार्यरत शेरबहादुर रोकायाले पहिलो पटक आफु हुम्लाका एसडिसी संस्थामा काम गर्दा गणेश देवकोटालाई भेटाएको बताउँछन् ।
पहिलो पटक विवाह पार्टीमा आफुले गणेशलाई भेटाएको उसको क्षमता देखेर आफु प्रभावित भएको पढ्नका जुम्लामा रहेको आफ्नै गाउँको विद्यालयमा भर्ना गरिदिएको रोकायाले बताए । ‘उसमा पढ्ने सक्ने अदुभुत क्षमता मैले देखे र जुम्लामा रहेको आफ्नै गाउँमा विद्यालया भर्ना गरे । त्यो विद्यालयमा फरक क्षमतामा भएका विद्यार्थीको पढाई हुने गरेको थियो ।’ उनले भने,‘अहिले मैले केही गर्न नसकेपनि उसलाई सही बाटो हिडाएछु भन्ने लागेको छ ।’