सुर्खेत । नेकपा पञ्चपुरीले नगरपालिका भित्रका १० सडक तत्काल सुचारु गर्न माग गरेको छ । चाडपर्व नजिकिदै गर्दा नागरिकलाई सहज रुपमा गाउँसम्म पुग्ने मुख्य सडकहरुलाई तत्काल सुचारु गर्नपर्ने माग गर्दै नेकपाले नगरपालिका नगर प्रमुख उपेन्द्र थापालाई ज्ञापनपत्र बुझाएको हो ।
मुख्य चाडपर्वहरु नजिकिदै गर्दा वर्षातमा अवरुद्ध भएका मुख्य सडकहरुलाई दशैँ अगावै सुचारु गर्न नगरपालिकासँग नेकपाले माग गरेको छ ।
नेकपाले बराइचे–चनाली, जंगला–खोर, चतुरे–भावर–लाटीकाँडा–दोवाटा, लाटीकाँडा–भक्तडी–पैसरा–च्यूरी र विद्यापुर–जाजुरादह–दोवाटा सडक सुचारु गर्न माग गरेको छ ।
यस्तै, विद्यापुर–सुन्दरपुर राग, जामु–मुरमुरी, नासी–बाच्छी, पलैटे बजार–च्यूरिखेत–हासेगाउँ र बावियाचौर–लामिदमार–लगम सडक पनि अवरुद्ध रहेकाले सुचारु गर्न माग गरिएको नेकपा पञ्चपुरीका सचिव केशव शाहीले जानकारी दिए ।
पञ्चपुरीबाट सञ्चालन भइरहेका लामो तथा छोटो दुरीका यातायातका साधनहरुले मनपरी भाडा असुलि रहेकाले तत्काल रोक्न पनि नगर प्रमुखको ध्यानाकर्षण गरिएको शाहीको भनाई छ । नेकपाले नागरिक सरोकार राख्ने १७ बुदे ज्ञापनपत्र बिहीबार बुझाएको हो ।