काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देशभर बढिरहेको छ । सरकारले कोरोना नियत्रणको लागि गरेको लगानी तथा प्रयासहरु सबै असफल भएको छ ।
देशभर कोरोना संक्रमण बढिरहँदा पछिल्लो समय कोरोना संक्रमणको केन्द्रबिन्दु काठमाडौं उपत्यका बनेको छ । काठमाडौं उपत्यकाको पनि सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा अहिलेसम्म २ सय ५१ जनाको मृत्यु भइसकेको छ । देशभर ७ सय २७ जनाको कोरोनाबाट मृत्यु हँुदा काठमाडौं उपत्यकामा मात्रै यति धेरै संख्यामा कोरोनाबाट मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाअनुसार उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा मात्र ४३ हजार ३ सय ६ जना कोरोना संक्रमित भएका छन् । ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २ सय ९० जना संक्रमित भएका छन् ।
उपत्यकाको यो संक्रमण देशभरको झण्डै आधा संख्या हो । मन्त्रालयकाअनुसार अहिले देशभर १ लाख २९ हजार ३ सय ४ जना संक्रमित रहेका छन् । जसमध्ये ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं अहिलेसम्म सबैभन्दा बढी कोरोनाबाट मृत्यु भएको जिल्लाको रुपमा रहेको छ । काठमाडौंमा मात्र १ सय ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा ४८ जना र भक्तपुरमा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
देशभर अहिले ३८ हजार ७ सय ३७ जना संक्रमितले उपचार गराइरहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार उपत्यकामा मात्र २२ हजार २ सय ४८ जना संक्रिय संक्रमित रहेका छन् ।