सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेका बेला मदन भण्डारी स्पोर्टस एकेडेमी कर्णाली प्रदेशले ‘जनताको बहुदलीय जनवाद विषयमा खेलाडीहरू स्वागत तथा प्रदेश भेला’ नाममा प्रशिक्षण दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, एकेडेमीका उपाध्यक्ष ध्रुव आचार्यको उपस्थितमा कार्यक्रम सम्पन्न गरेको हो ।
सुर्खेतको घण्टाघरमा भएको प्रशिक्षण कार्यक्रममा खेलाडीलगायतका नेकपा नेता तथा कार्यक्रता गरेर दुई सय जनाको उपस्थिति रहेको थियो । एकेडेमीले गरेको कार्यक्रममा अध्यक्ष ओलीनिकट कार्यकर्ताको उपस्थिति रहेको भन्दै त्यहाँ पार्टी फुटाउनका लागि प्रशिक्षण गरिएको अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहको आरोप लगाएको छ ।
कर्णालीमा खेल क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा स्वागत तथा प्रदेश भेलाको आयोजना गरिएको एकेडेमीका कर्णाली प्रदेश अध्यक्ष तेजविक्रम बस्नेतले बताए । ‘यो कार्यक्रममा पार्टी विवादका गुटको भेला हैन,’ उनले भने, ‘आगामी दिनमा खेल क्षेत्रलाई कर्णालीमा कसरी अगाडि बढाउने भन्ने विषयमा प्रशिक्षण भएको हो ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव उपस्थित भएको कार्यक्रममा नेकपामा आस्था राख्ने खेलाडीहरू उपस्थित भएको एकेडेमीका अध्यक्ष बस्नेतले बताए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी विचारका हिसाबले जनताको बहुदलीय जनवाद भन्ने विचार राख्ने भएकाले जनताको बहुदलीय जनवादलाई कसरी खेल क्षेत्रसँग जोड्ने भन्ने विषयमा छलफल भएको बस्नेतले बताए । ‘यो खेल क्षेत्रलाई कसरी जनताको बहुदलीय जनवादसँग जोड्न सकिन्छ,’ उनले भने, ‘त्यसका सामान्य छलफल भएको हो ।’