हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ ।
मोबाइलमा नेटवर्क देखाएतापनि पाँच,छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दा गर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।स्थानीयवासी राजबहादुर भण्डारीले भने, ‘मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिदैन । सुनिएपनि बुझिदैन । बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ ।’
नेटवर्कमा आएको समस्यालाई समाधान गर्न पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ ।
टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबिले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिए ।
टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उनकोे भनाइ छ । हुम्लामा टेलिकमको मात्र नभइ निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ । रासस