सिमकाेट ।हुम्लाको सर्केगाड गाउँपालिका- ७ की जमुना कार्कीलाई सुत्केरी व्यथाले च्यापेको तीन दिन भयो । उपचारको लागि स्वास्थ्यकर्मी खटिए पनि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेका कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनको पेटमा भएको बच्चा उल्टो हुँदा निकै समस्या भएको हो ।
उनी सुत्केरी हुन सकिरहेकी छैनन् भने कार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले जानकारी दिए । अध्यक्ष रोकायले गर्भवती कार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा दिउँसो २ बजे नै खबर गर्दा पनि अहिलेसम्म उद्धार हुन सकेको बताए ।
विविध प्रक्रियागत कमजोरीका कारण सुत्केरी कार्कीको हवाई उद्धार गर्न नसकिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले स्वीकार गरेका छन् । ‘विभिन्न निकायमार्फत कागजी प्रक्रिया मिलाउँदामिलाउँदै निकै ढिलो भयो’ खड्काले भने, ‘आज शनिबार भएको हुँदा पनि झन जटिल भएको हो ।’
आपत्कालीन् सेवाका लागि कर्णाली प्रदेशमा निजी हेलिकोप्टर नहुँदा नेपाल आर्मीको हेलिकोप्टरमार्फत उद्धार गर्ने गरिए पनि उक्त हेलिकोप्टरसमेत सुर्खेतमा नभएकोले आज उद्धार गर्न नसकिएको खड्काले बताए ।
हवाई सेवाका लागि माग गर्दासमेत महिला तथा बालबालिका मन्त्रालयद्वारा अनुमति पाउन ढिलाइ हुँदा उद्धार गर्न नसकिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले बताए । उनले भोलि बिहानसम्म कार्कीको उद्धार गर्न सकिने जानकारी दिए ।
स्मरण रहोस् कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावल सोही जिल्लाबाट निर्वाचित जनप्रतिनिधिसमेत हुन् । राष्ट्रपति महिला उद्धार कार्यक्रम, कर्णाली प्रदेश सरकार र स्वास्थ्य सेवा निर्देशनालय समेतले आपतकालीन् अवस्थामा हवाई सेवाको लागि बजेट विनियोजन गरेका छन् । तर, आवश्यक परेको समयमा भने हवाई सेवा प्रयोगविहीन बनेको छ । जसको कारण हवाई सेवाको पर्खाइमा कर्णालीका नागरिकले यसअघि पनि ज्यान गुमाइसकेका छन् ।