सुर्खेत । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो ।
कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पुर्याउन गाडी त्यसतर्फ गएको र आफु सुर्खेतस्थित पश्चिम बड्डिचौर भएको सभापति सिंहले जानकारी दिए । ‘गाडी छोरालाई पुर्याउन विहान गएको थियो म योजना आयोगको गाडीमा बड्डिचौर आएको छु’ उनले भने, ‘बाटोमा फर्किदा ड्राइभरले घाँस ल्याएको हुनसक्छ ।
प्रदेश सभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको भएपनि सिंहको भनाईअनुसार उनले पारिवारिक प्रयोजनमा गाडी प्रयोग गरेको बुझिन्छ ।
