सुर्खेत । भारत झारखण्ड राज्य राँची जिल्लाका धर्मेन्द्र दास, उनकी श्रीमती नवलपरासी बर्दघाटकी देवी परियार र भारत गुजरातका कालु यादवले नेपालका मेला महोत्सवमा आवश्यक पर्ने उपकरण जडान गर्ने काम गर्थे । गत फागुनमा सुर्खेतमा महोत्सव आयोजना हुँदै थियो । महोत्सवमा मनोरञ्जन प्रदान गर्ने उपकरण जडान गर्न उनीसहित तीनै जना सुर्खेत पुगे । त्यसैबेला विश्वभर महामारीको रूपमा कोरोना भाइरसको संक्रमण फैलिँदै थियो ।
नेपालमा पनि कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले गत वर्ष ११ चैतमा लकडाउनको घोषणा गर्यो । नेपालमा लकडाउन सुरु भएसँगै उनीहरू सुर्खेत वीरेन्द्रनगरको खुल्ला मञ्चमा नै रोकिए ।
लकडाउनका कारणले महोत्सवमा जडान गरिएका रोटेपिङ, बालबालिका खेलौना, चर्खेपिङ र सर्कसका सामान ढुवानीमा समस्या भयो । सर्कस सञ्चालक भारत गुजरातका सोची खानले दासलाई सामान हेर्नू भनेर केही पैसा दिएर खुल्ला मञ्चमा नै छोडेर फर्किए ।
खानेपानी, शौचालयसमेतको व्यवस्था नभएको खुल्लामञ्चमा दास, उनकी श्रीमती, डेढ वर्षीय छोरा र गुजरातका कालु यादव सामान कुरेर बसिरहेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि साहु आउन सकेनन् । साहु आउन नसकेपछि उनीहरू झन् समस्यामा परेका छन् ।
घर जानुअघि तीन जनाका लागि खानले १० हजार रुपैयाँ छोडेर गएको दास बताउँछन् । साहु घर फर्किएको सात महिना भइसक्याे । फर्केर आउने कुनै टुंगाे छैन । साहु अहिलेसम्म फर्केर नआएका कारण आफूहरू समस्यामा परेको दासको भनाइ छ । ‘नेपालमा लकडाउन भयो,’ उनले भने, ‘त्यही १० हजार रुपैयाँले सात महिना जीवन पाल्यौँ ।’
सात महिनासम्म खुल्ला मञ्चमा निकै कष्टका साथ बसेको दासकी श्रीमती देवी परियारले बताइन् । ‘सानो बच्चा लिएर खुल्ला चौरमा बस्नुपरेको छ,’ उनले भनिन्, ‘बच्चा बिरामी हुँदा उपचारसमेत हुन सकेन ।’
लकडाउनका कारण आफूहरूले खानेकुरा नपाएर समस्या भाेगेको देवीले बताइन् । ‘१० हजार रुपैयाँ पनि सकियो । खाद्यान्न पसलेले उधारो दिन छाडे,’ उनले भनिन्, ‘यहाँ मजदुरी गर्दा कसैले साग दिए, कसैले एक/दुई किलो चामल दिए, अनि ज्यान बचायौँ ।’
अहिले लकडाउन खुल्ला भएकाले श्रीमान् र कालु यादवले दिनमा मजदुरी गर्ने गरेको र त्यसैबाट आएको कमाइले पालिने गरेको देवीले बताइन् । ‘अहिले लकडाउन खुलेको छ,’ उनले भनिन्, ‘अब साहु आएमा आफ्नो घरमा नै फिर्ता हुने सोचेका छौँ ।’
लकडाउनका बेला भोकै बस्दा वीरेन्द्रनगर नगरपालिकासँग राहत माग्न गएको तर आफूहरूलाई नगरपालिकाको स्थायी बासिन्दा भए मात्र राहत दिने नगरपालिकाले बताएका कारणले केही दिन भोकै बस्नुपरेको उनले गुनासो गरिन् । ‘स्थायी बासिन्दा नहुँदा पहिला राहत दिइएन,’ उनले भनिन्, ‘पछि नगरपालिकामा गएर रोई कराई गर्दा राहतस्वरूप २५ किलो चामल पायौँ । त्यसैले केही दिन खानलाई पुग्यो ।’
कोरोना संक्रमणका कारण अहिले महोत्सव लाग्न छाेडेकाले काम नपाएर समस्यामा परेको परियारले गुनासो गरिन् । ‘महोत्सवमा काम गर्दा केही पैसा कमाइ हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसको ५० प्रतिशत महोत्सव आयोजना गर्ने साहुलाई दिनुपर्थ्यो ।’
अहिले मजदुरी गरेर दाल, चामल ल्याउने गरेको कालु यादव बताउँछन् । ‘काम गरेबापत कसैले दाल, चामल दिने गरेका छन्,’ उनले भने, ‘फागुनदेखि नै नेपालमा बस्दा निकै समस्या भयो । कोरोनाभन्दा भोकले मरिने चिन्ता भएकाले अहिले मजदुरीको काम गर्छौं ।’
भारतबाट साहुले फोन गरेर सामान लिन आउँछु भनेकाले चाँडै नै आफ्नो गाउँमा फर्किने आसमा छन् उनीहरू ।