जुम्ला । जुम्ला सदरमुकामस्थित कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा निर्माण गरिएको कङक्रिटको यज्ञशाला (विवाह मण्डप) भत्काइएको छ । पुरातात्त्विक विभागले मापदण्ड विपरीत निर्माण भएको ठहर गर्दै हटाउन परिपत्र गरेपछि चन्दननाथ गुठी व्यवस्थापन समितिले मंगलबार डोजर प्रयोग गरी यज्ञशाला भत्काएको हो ।
२०७८ सालमा गुठी व्यवस्थापन समितिबाट र चन्दा संकलन गरेको ११ लाख लगानीमा यज्ञशाला निर्माण गरिएको थियो । तत्कालीन अध्यक्ष पूर्ण सिंह कठायतको कार्यकालमा यज्ञशाला निर्माण गरिएको हो । तर २०७८ लाल पौष १६ गते कार्यवाहक अध्यक्ष रत्नचन्द्र उपाध्यायको अध्यक्षतामा आधुनिक यज्ञशाला निर्माण गर्ने निर्णय गरिएको थियो ।
तर २०७९ मंसिर १८ गते पुरातत्त्व विभागले ऐतिहासिक,पुरातात्त्विक,धार्मिक तथा संस्कृति महत्व बोकेको तथा राष्ट्रिय सम्पदा सूचिमा रहेको चन्दननाथ मन्दिर परिसरमा बनेको यज्ञशाला भनिएको आधुनिक नयाँ संरचनाले चन्दननाथको मौलिक स्वरूपलाई असर पारेकोले उक्त संरचना तत्काल हटाउन भन्दै विभागको ०७९ मंसिर १६ को निर्णयअनुसार पत्र पठाएको थियो । त्यतिबेला पनि सुनुवाई हुन सकेन ।
फेरी पुरातत्त्व विभागले ०७९ मङ्सिर मै हटाउन पत्राचार गरिएपनि हालसम्म यथावत् नै रहेको जानकारी आएकोले यज्ञशालाका नाममा मन्दिर परिसरमा निर्माण गरिएको आधुनिक संरचना हटाउन २०८१ भदौ २६ गते दोस्रो पटक गुठी समिति,प्रशासन,प्रहरी र नगरपालिकालाई बोर्धाथ गरेर पत्राचार गरेको देखिन्छ ।
दुई पटकको पत्राचार पछि गुठी व्यवस्थापन समितिको मंसिर ५ गते बसेको बैठकले मंसिर ११ गते भत्काउने निर्णय भएअनुसार मंगलबार आधुनिक यज्ञशाला भत्काइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष अमर बहादुर थापाले बताए ।
पुरातत्त्व विभागको निर्देशानुसार हामीले भत्काएका हौँ । यसमा पुरानो समितिसँग हाम्रो कुनै पूर्वाग्रह छैन । उहाँले भन्नुभयो,‘मन्दिरको मौलिक स्वरूपमै असर परेको कुरा विभागले ठहर गरेर भत्काउन भनेपछि हामीले भत्काएका छौ । विभागले निर्देशन गरेको खण्डमा मन्दिर परिसरका सबै आधुनिक संरचना हटाउन समितिले कदम चाल्छ । यो सुरुवात मात्र हो ।’
चाँडै मन्दिर परिसरमा विभागले भनेकै स्थानमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुरूपको मौलिक संस्कृति झल्किने खालको संरचना बनाइने अध्यक्ष थापाले उल्लेख गरे ।
यज्ञशाला भत्काएपछि तत्कालीन चन्दननाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले असन्तुष्टि व्यक्त गरे। विगतमा विवाह मण्डपको निकै समस्या र आवश्यकतालाई मध्यनजर गरी आफ्नै लगानीमा निर्माण गरेका हाैं । उनले भने,‘आधुनिक संरचनाका नाममा पूर्वाग्रही रुपमा पुरानो समितिले बनाएको संरचना भत्काउन थालिएको छ । यो सरासर गलत छ । मन्दिर छेउमै आकाश छुने पक्की संरचना बनेको पुरातत्त्व विभागले नदेख्ने तर यज्ञशाला मात्रै भत्काउने विभागले अन्याय गरेको छ ।’
यज्ञाशाला ८ लाख गुठीको लगानी र ३ लाख चन्दा संकलन गरी ११ लाखमा निर्माण भएको हो । हामीलाई हाम्रो पैसा विभागले फिर्ता गर्नुपर्छ । अन्यथा मुद्दा प्रक्रियामा अघि बढ्नेसमेत निवर्तमान अध्यक्ष कठायतले चेतावनी दिए।
चन्दननाथ मन्दिर गुठीको जग्गाका नाममा भ्रष्टाचार मौलाएको अवस्थामा सुतिरहेको वर्तमान समिति र प्रशासनले बनेको संरचना भत्काएर गलत गरेकोसमेत उनको आरोप छ ।
यता नागरिक समाजका अध्यक्ष राज बहादुर महतले अपरिपक्व निर्णय र हचुवाको भरमा निर्माण भएकोले हाल संरचना भत्काउनु परेको बताए । अब विभागले मन्दिर आसपासका सबै कंक्रीट संरचना हटाउन कदम चाल्नुपर्ने उनको भनाई छ । पहिलाका समितिको कमजोरीले पैसा पनि रहेन,संरचना पनि रहेन । अब मन्दिरमा संरचना बनाउँदा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले गुठीको विषय प्रशासनको क्षेत्राधिकार भित्र नपर्ने र विभागको निर्णय तथा निर्देशानुसार गुठिले भत्काएको बताए । मन्दिरको संरक्षण सुरक्षामा प्रशासनको भूमिका भएपनि संरचना बनाउने भत्काउने सँग कुनै संलग्नता नहुने स्पष्ट पारे।