दैलेख । शिक्षा विकास तथा समन्वय इकाइ दैलेखले मंसिर १ गतेसम्म विद्यालयमा विद्यार्थी नपढाउन भनेकाे छ ।
काेराेना भाइरस (काेभिड-१९)काे महामारीका बीच दैलेखमा संचालन भैरहेका विद्यालयलाइ यस्ताे निर्देशन दिएकाे हाे ।केही शिक्षक र अन्य नागरिकमा समेत काेराेना भाईरस पाेजेटिभ देखिएकाे तथा दशैंका लागि छिमेकी मुलुकबाट नागरिक जिल्लाभित्र थालेपछि संक्रमण जाेखिम बढ्न सक्ने भन्दै यस्ताे निर्णय गरिएकाे कार्यालयले जनाएकाे छ ।
यही असाेज २२ देखि मंसिर १ गतेसम्म विद्यार्थीलाई विद्यालयमा नल्याउने भनी काेभिड -१९ जिल्लास्तरीय संरचनाकाे निर्णय भएकाले साेहीअनुसार गर्न पत्राचार गरिएकाे कार्यालयकाे भनाइ छ ।साथै, सिकाइ सहजीकरण निर्देशिका, २०७७ कार्यान्वयनका लागि टाेल सिकाइ, विद्यार्थीमा सृजनात्मक र नवपर्वतनात्मक क्षमता विकास हुने गरि गृहकार्य तथा परियाेजना कार्यहरू दिन निर्देशन गरिएकाे छ ।
यस्तै, पाठ्यपुस्तक लगायतका स्व-अध्ययन सामग्री पढ्नका लागि उत्प्रेरित गर्ने, अभिभावकहरूसँग सहकार्य गरि विद्यार्थीले घरमा गर्ने कार्यलाई सिकाइसँग जाेडने, प्रविधिकाे पँहुच भएका विद्यार्थीलाई रेडियाे टिभिबाट प्रशारण हुने पाठहरू नियमित रूपमा सुन्ने हेर्ने वातावरण बनाउन सहयाेग गर्न समेत विद्यालयलाइ भनिएकाे छ ।