निर्मला नामकी काठमाण्डौंकी १६ वर्षिय किशोरी, दश कक्षा पास गरेपछि खुशी भएर बुवाले ‘स्मार्ट फोन’किनिदिए ।
निर्मला फेसबुक खोलेर त्यसैमा भुल्न थालिन् । फेसबुकबाट नै उनको २५ वर्षिय युवकसंग परिचय भयो । उनीहरु कुराकानी गर्न थाले । निर्मलाका आमाबुवालाई यो बारेमा केही ज्ञान नै थिएन ।
निर्मलाको त्यो युवकसंग प्रेम पर्यो । उनी त्यस युवकसंग विवाह गर्न भनेर भागेर गइन । धन्य केही घण्टापछि नै घरबाट भागेको भन्ने थाहा पाएपछि वीरगंजमा प्रहरीले फेला पार्यो । भारतमा चौकीदारी गर्ने युवकले आफुलाई लगेर बेचीदिन पनि सक्थ्यो भन्ने थाहा पाएपछि पो त निर्मला झसंग भएकी थिईन ।
अहिले १० कक्षा पुगेपछि छोराछोरीलाई अत्याधुनिक खालको ‘मोबाइल’, ‘स्मार्ट फोन’ उपहार दिने चलन छ । तर यसको प्रयोग छोराछोरीले कसरी गरिरहेका छन् भनेर नहेर्ने हो भने पछि निर्मलाकाे जस्ताे समस्या पर्नसक्छ ।अहिले १०–११ वर्षका बच्चादेखि युवा युवतीसम्म तनावको कारणले मानसिक अवस्था विचलित भएका घटना पनि देखिएका छन् । बालबालिका र किशोर किशोरीले पनि आत्महत्या गरेका घटना सुनिन्छन् । यस्तो अवस्थाबाट बच्न आफु बालबालिकासंग कुराकानी गर्ने, उनीहरुको समस्या केही छ भने भन्न प्रेरित गर्नुपर्छ ।
“कतिपय आमाबुवाले मैले राम्रो स्कुलमा पढाएको छु, भिडियो गेम किनिदिएको छु, त्यती भए त अरु के चाहिन्छ र भन्ने” विचार गर्छन् । तर आमाबुवाको सामिप्य, माया, स्नेह, कुराकानी आदि सबै बालबालिकाको लागि महत्वपूर्ण हुन्छ । यसले गर्दा छोराछोरी कतै समस्यामा परे, गलत बाटोमा लागे भने समयमा नै थाहा पाइन्छ ।
मेराे एक परिचितका छोरालाई १२ कक्षा पढ्न काठमाण्डौंमा राखेका थिए । किशोर (नाम परिवर्तन) उक्त युवकलाई मोटर साइकल पनि किनिदिएका थिए ।
छोराले किताब किन्न पैसा चाहियो भनेर खबर गर्दा जति पनि पठाइदिन्थे । “छोराले राम्ररी पढिरहेछ” भन्ने उनीहरुको विचार थियो । तर एकदिन छोराले रक्सी खाएर मोटर साइकल चलाएर दुर्घटना भएको खबर सुनेपछि पो झसंग भए । यदि उनले समय समयमा छोरासंग आएर उसको जीवन कसरी चलिरहेछ, के पढी रहेछ भनेर विचार गरेका भए, जथाभावी पैसा नपठाएको भए सायद यस्तो समस्या हुँदैन थियो ।
किशोर किशोरीको शारीरिक र मानसिक रुपमा त छिटो छिटो परिवर्तन भइरहेको हुन्छ । यस्तो बेलामा उनीहरुको मनको कुरा धैर्यसंग सुनिदिने, सल्लाह दिने त घरका मातापिता, फुपु दिदी, दाजुनै हुन सक्छन् । उनीहरु घरको मानिससंग कुरा गर्न पाएनन भने बाहिरका मानिससंग कुरा गर्दा समस्यामा पर्न सक्छन् ।
अहिले बालबालिकालाई सानैदेखि बाहिरको व्यक्तिले उनीहरुको शरीरको कुनै भाग छोयो, मुसार्यो र म्वाई खायो भने यस्ता कुरा मातापितालाई भनी हाल्नुपर्छ भनेर सिकाउनुपर्छ ।
घर बाहिरका छिमेकी, घरमा आएका काम गर्ने मानिसहरुको भरमा साना बालबालिकालाई छोड्दा उनीहरुलाई यौन शोषण हुने सम्भावना हुन्छ ।त्यसैगरी १२–१३ वर्षका बालबालिका पनि उनीहरुलाई घरकै मानिस, छिमेकी, चिनेका परिचित वा बुवा आमा वा दाईका साथीहरुले वा स्कुलका शिक्षकहरुले म्वाई खाने, छुने आदि गर्यो भने तिमीले नडराएर “मलाई यसरी छोएको मन पर्दैन भनेर” प्रतिकार गर्न सिकाउनुपर्छ ।
किनभने यसो नगर्दा घर परिवार भित्रबाट नै यौन शोषणका घटना पनि हुन सक्छन् । बालिका मात्र होइन बालकलाई पनि यौन शोषणका घटना हुन सक्छ ।सानै देखि बालबालिका आफूलाई समस्या प¥यो भन्ने फरक मानिसलाई भन्नुपर्छ भनेर सिकाउनुपर्छ ।
स्कुलमा शिक्षकले वा आफुभन्दा ठूला केटाहरुले पनि यस्तो गर्न सक्छन् । त्यसैले कसैले यस्तो गरिहालेमा तुरन्तै आएर घरका ठूला मान्छेलाई भनिहाल्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ ।
प्रायः यस्तो कुरा भन्यो भने कसैले मलाई गाली गर्छ कि भन्ने डरले प्रायः यस्तो कुरा लुकाउँछन् र पछि समस्या पर्न सक्छ ।यसले गर्दा उनीहरुको आत्मविश्वास जागृत हुन्छ । सानो गल्तीमा पनि बालबालिकालाई गाली गरे भने त उनीहरु आफ्नो कुरा राम्रोसंग राख्न सक्दैन्न् । बालबालिकालाई अनुशासनमा राख्नुपर्छ, तर्साउन हुँदैन ।