सुर्खेत । गत वर्ष १५–२४ मंसिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा सल्यानकी पुष्पा भण्डारीले म्याराथनमा रजत पदक जितिन् ।
उनले कान्छीमाया कोजूले बनाएको राष्ट्रिय रेकर्डभन्दा ५ मिनेट कम २ घण्टा ५० मिनेट ११ सेकेण्डमा म्याराथन दौड पूरा गरी नयाँ रेकर्ड बनाइन् । नयाँ रेकर्ड बनाएको एक वर्षपछि प्राप्त गरेको प्रमाणपत्रमा भने ३३ सकेण्ड धेरै २ घण्टा ५० मिनेट ४४ सेकेण्ड उल्लेख भएपछि उनी अचम्म परिन् ।
‘साग म्याराथनमा मैले नयाँ राष्ट्रिय रेकर्ड बनाएँ । तर, समय बढाएर प्रमाणपत्र दिइयो,’ धावक भण्डारीले शिलापत्रसँग भनिन्, ‘यो लापरबाही हो कि कसरी भयो मैले बुझ्न सकिनँ ।’
उनले आफूले बनाएको नयाँ राष्ट्रिय रेकर्ड अपडेटसमेत नगरिएकोमा चित्त दुखाएकी छिन् । आठौँ राष्ट्रिय खेलकुद् नेपालगन्जमा सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौडमा निर्णायक झुक्किएर आएको गलत फास्ट टाइम अपडेट हुँदासमेत आफ्नो अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक टाइम रेकर्ड अपडेट नहुँदा चित्त दुखेको उल्लेख गर्दै भन्छिन्, ‘मैले मुख्य प्रशिक्षक र एथलेटिक्स संघका अध्यक्षसँग पटक–पटक भनिसकेँ । तर, एक वर्षसम्म अपडेट गरिएको छैन ।’
आफूले पदक जित्दासमेत विगतमा पनि राष्ट्रिय टिम नराखिएको गुनासोसमेत भण्डारीको छ । अरु खेलका सेकेण्ड, थर्डलाई बन्द प्रशिक्षणमा राख्दा आफूलाई छुटाइएको उनको गुनासो छ ।
०६८ सालदेखि राष्ट्रिय स्पर्धामा पदक ल्याए पनि आफू विरलै बन्द प्रशिक्षणमा पारिएको उल्लेख गर्दै भन्छिन्, ‘के कारणले यस्तो भेदभाव हुन्छ बुझ्न सकेको छैन । ठाउँमा आफ्नो मान्छे नभएर हो कि ?’ उनी सशस्त्र प्रहरीको एपीएफ क्लबबाट खेल्छिन् । उनी ६ मंसिरमा भएको छैटौँ धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथन विजेतासमेत हुन् ।
मुख्य प्रशिक्षक चन्द्र गुरुङ भने पुष्पाले बनाएको रेकर्ड अपडेट पनि हुने र प्रमाणपत्रमा पनि पाउने बताए । उनले भने, ‘प्रमाणपत्रमा आएको रेकर्डभन्दा धेरै समय सच्याउन उनलाई बोलाएका छौँ । उनी मात्र होइन्, अरु एथलेटिक्स खेलाडीको रेकर्ड अपडेट गर्ने काम एथलेटिक्स संघको हो । किन ढिला भइरहेको छ, मलाई पनि थाहा छैन ।’