सुर्खेत। मंसिरमा हुने भनिएको नेपाली खेलकुदको महाकुम्भ दसौं राष्ट्रिय खेलकुदको व्यवस्थापनका पक्षका बारेमा प्रश्न उठिरहेका बेला कर्णाली प्रदेशले भने व्यवस्थापकीय कमजोरी नहुने दाबी गरेको छ ।
प्रतियोगिताको मुख्य व्यवस्थापक रहेको प्रदेश सरकारअन्तर्गत कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेत तथा आसपासका जिल्लाहरूमा आवास, खेलाडी सुरक्षा, यातायातका पर्याप्त पूर्वाधार रहेको र व्यवस्थापन गर्न सकिने जनाएको छ ।
प्रदेश राजधानी भएकाले सुर्खेतमा चारवटै सुरक्षा निकायको बलियो उपस्थिति छ । खेलाडी र दर्शकको सुरक्षामा कमी हुन नदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न सकिने बताइएको छ । आवासको हकमा विभागीय र गैरविभागीय टिमलाई अलग–अलग व्यवस्थापन गर्न सकिने गरी परिषद्ले तयारी थालेको छ । परिषद्का अनुसार विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफका खेलाडी र प्रशिक्षकलाई सम्बन्धित सुरक्षा निकायकै आवासगृह तथा र गैरविभागीय टिमका खेलाडी, प्रशिक्षकलाई होटल, होमस्टेहरूमा बसोबासको व्यवस्थापन गरिनेछ । कर्णालीमा ७ प्रदेश र ३ विभागीय गरी १० टिमले प्रतियोगितामा भाग लिने सम्भावना छ । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा भने गैरआवासीय नेपाली संघ (एनआरएनए) को टिम पनि सहभागी थियो ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगिताको व्यवस्थापनमा प्रदेश सरकार समक्ष रहेको बताउँछन् । ‘आवास, सुरक्षा, यातायात व्यवस्थापनलगायत सबै क्षेत्रको व्यवस्थापन गर्न हामी सक्षम छौं, हामीस‘ग त्यससम्बन्धी पूर्वाधार पर्याप्त छन्, कर्णालीले व्यवस्थापन गर्न सक्दैन कि भन्ने आशंकामात्र हो,’ मन्त्री भण्डारीले भने, ‘व्यवस्थापन गर्न नसक्ने कुरै छैन, बरु संघले तत्काल कार्यविधि पारित गरेर कामको बाँडफाँट गर्नु उपयुक्त हुन्छ ।’ प्रदेश सरकारले गर्नुपर्ने कामहरूको टुंगो लगाइएको खण्डमा तयारी गर्न सजिलो हुने उनको भनाइ छ ।
सुर्खेतमा साना ठूला गरी एक सय बढी होटल छन् । वीरेन्द्रनगर नजिक छिन्चु, गुराँसे, गढीलगायतका स्थानमा पनि मध्यमस्तरका होटलहरू छन् । वीरेन्द्रनगरमा अति विशिष्टहरूका लागि चारतारे स्तरका सिद्धार्थ, शुभलगायत होटल छन् भने मध्यमस्तरका नमस्ते नेपाल, डी नमस्ते, भ्यालीभ्यू, स्टे भ्याली भ्यू, अशोका, बुलबुले भ्यू, दर्शन होटल, डीएफसी, सुमेरु, लेकाली, शिरस्थान, मानसरोवर, नाम्लो, अतिथि होटल, सत्कार, ह्यापी स्टे, आमाको भान्साघरलगायतका ठूला होटल छन् । सुर्खेत उपत्यकामा थारु, मगर र राजी समुदायका व्यावसायिक होमस्टे पनि सञ्चालनमा छन् ।सुर्खेत नजिकको जिल्ला दैलेख सदरमुकाम र गुराँसेमा पनि स्तरीय होटलहरू छन् ।
परिषद्ले दसौं खेलकुदका लागि जुन जिल्लामा खेल खेलाउने हो, त्यही जिल्लामा आवास व्यवस्थापन मिलाउने गरी समन्वय थालेको छ । परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल सुर्खेतबाहिर सात जिल्लामा प्रतियोगिता सञ्चालन गरिने भएकाले सुर्खेतमा मात्र आवास व्यवस्थापनमा भार नपर्ने बताउँछन् । ‘१७ खेल सुर्खेतमा हुनेछ, बाँकी अरू जिल्लामा तयारी हुँदै छ, आवासको व्यवस्थापनमा होटलहरूको स्तरीकरण गरिरहेका छौं,’ उनले सुनाए, ‘उद्घाटनको दिनमा पनि व्यवस्थापनमा कुनै समस्या आउने देखिन्न ।’ सदस्यसचिवका अनुसार उद्घाटनका बेला खेलाडी र दर्शक गरी ५ हजारलाई खाना र आवासको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
होटल व्यवसायीहरूले पनि आवास व्यवस्थापनका लागि पर्याप्त होटल पूर्वाधार रहेको बताउँछन् । ‘हामी प्रतियोगिताका लागि आवश्यक खाना, आवास, खाजा, पानीलगायत व्यवस्थापन गर्न तयार छौं, स्तरीय होटलहरू पर्याप्त छन्, आवास व्यवस्थापनमा कमी हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन,’ शुभ होटलका सञ्चालक तथा प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही बताउँछन् । ‘यसअघि पनि राष्ट्रियस्तरका ठूल्ठुला सभासम्मेलन आयोजना भइसकेका छन्, आवास व्यवस्थापनमा कुनै समस्या आएको थिएन, दसौं खेलकुदमा पनि यस्तो समस्या आउने देखिन्न,’ विश्वास व्यक्त गरे । उनले मझौला स्तरका होटल थुप्रै रहेकाले आवास व्यवस्थापन समस्या आउन नदिने बताए ।
कर्णालीका सुर्खेतबाहेक रुकुम पश्चिमको चौरजहारी, दैलेख, कालीकोट, जुम्ला, हुम्ला र मुगुमा विभिन्न खेलहरू खेलाइने तयारी छ । दैलेखमा कबड्डी, कालीकोटमा कराते, जुम्लामा फुल कन्ट्याक्ट कराते र बुद्धिचाल, हुम्लामा हक्की, मुगुमा कबड्डी, रुकुम पश्चिममा तेक्वान्दो, सल्यानमा टेबलटेनिस प्रतियोगिता गराउने तयारी छ । ती खेलहरू सञ्चालन हुँदा त्यहाँ पुग्ने खेलाडी र दर्शकको अनुमान गरेरमात्र व्यवस्थापकीय तयारी गरिने परिषद्को भनाइ छ ।
भदौ पहिलो साता सुर्खेत आएका संघीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदेश सरकारसमक्ष आवास व्यवस्थापनको चुनौतीबारे चासो व्यक्त गरेका थिए । त्यस आधारमा प्रदेश खेलकुद परिषद्ले होटलहरूको लगत संकलन गरेको हो । मन्त्री चौधरी १५ दिनको कार्यप्रगति हेरेर आफू तोकिएकै समयमा प्रतियोगिता गर्न सक्ने निष्कर्षमा पुगेको बताउँछन् । ‘कार्यतालिकाअनुसार भौतिक पूर्वाधारको काम भएको छ, सुर्खेतको पूर्वाधार हेर्दा प्रतियोगिता रोक्न सकिन्न,’ उनले भने, ‘आवास व्यवस्थापनमा समस्या आउन सक्छ, तर त्यसमा प्रदेश सरकार र निजी क्षेत्रले अहिलेदेखि तयारी थाल्न आवश्यक छ ।’ यदि आवास व्यवस्थापनमा समस्या आउने स्थिति देखापरे अस्थायी टहरा बनाउन सकिने उनको भनाइ थियो ।
मन्त्री चौधरीले बजेटको विषय पनि छलफल भइरहेको बताउँछन् । ‘राष्ट्रिय खेलकुद परिषद्सँग कुरा भएको छ, यो महिना टेण्डर हुन्छ,’ उनले भने, ‘दुई महिनाभित्र सम्पूर्ण काम सकेर प्रतियोगिता आयोजना गर्न सकिन्छ ।’ संघीय सरकारले ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अपुग भए थप गर्न सकिने मन्त्री चौधरीको भनाइ छ ।कान्तिपुर