हुम्ला । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सरकारले चीनतर्फको ११ नम्बर पिलर भेटाएर ठूलो काम गरेको जसरी हल्ला गरेको तर उक्त पिलर नहराएको सीमा क्षेत्रको भ्रमण गरेर फर्केपछि बताएका छन् ।
चीनसँगका सीमा स्तम्भको अनुगमन गरेपछि कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले यसअघि सीमा क्षेत्रमा सरकारको उपस्थिति नै नभएका कारण पिल्लर हराएको भनेर हल्ला चलेको बताए ।
११ नम्बर पिलर रहेको स्थानमा पुगेपछि उनले भने, ‘सरकारी टोली कोही पनि नपुगेर पिलर हराएको हौवा पिटेका हुन् । ११ नम्बर पिलर हराएको होइन । नाम्खा गाउँपालिकाको टाकुलेमा छ ।’
यसअघि चीनले नेपाली भूमिमा भवन बनाएको सार्वजनिक भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी नेतृत्वको टोलीले सीमा स्तम्भको अनुगमन गर्न पुगेको थियो । अनुगमनका क्रममा प्रजिअ गिरीको टोलीले हराएको भनिएको ११ नम्बर पिलर फेला पारेको थियो । साथै चीनले भवन निर्माण गरेको स्थान चीनकै भुमि भएको निष्कर्ष टोलीको थियो ।
नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामाको समन्वयमा पिलर भएको क्षेत्र पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा पुगेपछि नेता शाहीले यसअघि वर्षेनी रुपमा सीमा वार्ता गर्ने टोलीको काम पिलर भएको स्थानमा पुग्नुभन्दा पनि मानसरोवर कैलाशको दर्शन गर्नमै सिमित भएको बताए ।