मुगु । मुगुको सोरु गाउँपालिका– ३ भिई गाउँका सिंगे बुमीले ७१ वर्षको उमेरमा पहिलोपटक नागरिकता लिएका छन् । उनलाई बुधबार जिल्ला प्रशासन कार्यालय मुगुले नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो ।
००६ साल भदौमा जन्मिएका बुमी गत भदौ महिनामा ७१ वर्ष पूरा भएका छन् । कलिलो उमेरमै ज्याला(मजदुरी गर्न भारत पसेका उनलाई नेपाली भाषा बोल्न आउँदैन । भारतको गडुवालमा करिब ४० वर्ष बिताएका उनलाई आफ्नो पारिवारिक अवस्थाबारे पनि खासै याद नभएको बताउँछन् ।
उनी अहिले भाइको घरमा बस्दै आएका छन् । ४६ वर्षीय मन्दिरे बुमी उनका कान्छा भाइ हुन् । लामो समय खोजी गर्दै जाँदा गत वर्षको माघमा गडुवालमा मन्दिरेका छोराले उनलाई भेट्टाएर घर ल्याएका थिए ।
करिब ४०÷५० वर्षपछि उनी भारतमा छन् भन्ने पत्ता लागेको सोरु गाउँपालिका– ३ का वडाध्यक्ष लालु धामी बताए । नागरिकता पाएपछि सरकारले दिने साामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ ।
७१ वर्षको उमेर नागरिकता पाउने यो गाउँपालिकामा उनी पहिलो व्यक्ति भएको इलाका प्रशासन कार्यालय सोरुका कार्यालय प्रमुख खड्गबहादुर बस्नेतले बताए । उनले भने, ‘मेरो १२ वर्षे जागिरे जीवनमा यो उमेरमा नागरिकताको प्रमाणपत्र लिएको पहिलोपटक हो । उहाँलाई नागरिकताको प्रमाणपत्र आफ्नै हातबाट उपलब्ध गराउन पाउँदा खुसी लागेको छ ।’