सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाका सात वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। म्याद थप गर्नुपर्ने भन्दै करार कर्मचारीहरुले तालाबन्दी गरेका हुन्। माग पूरा नभएसम्म वडामा तालाबन्दी जारी रहने करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताए। उनले भने, ‘गाउँपालिकाका सात वटै वडामा तालाबन्दी गरेका छाैं। तालाबन्दीबाट पनि समस्या समाधान नभए १३ गतेबाट गाउँपालिकाको कार्यालयमा धर्ना दिन्छौँ।’ वामनिकट र कांग्रेस निकट जनप्रतिनिधिको विवादले आफूहरुको रोजीरोटी गुम्न लागेकाले आन्दोलन गर्नुपरेको बोहराले बताए। उनले थपे, ’हामीलाई राजनीतिक एजेण्डा बनाइएको छ।’ करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफूहरु तालाबन्दी गर्ने निर्णयसम्म पुगको उनको भनाइ छ। तत्काल नियुक्ति दिइनुपर्ने, करार सम्झौता निरन्तरता हुनुपर्ने उनीहरुको माग छ। यता वाम निकट जनप्रतिनिधिले गाउँपालिकाले ताला लगाउन लगाएको आरोप लगाएका छन्। वार्ताको औचित्य समाप्त गर्दै केही करार कर्मचारीलाई गाउँपालिकाले उचालेर तालाबन्दी गर्न लगाएको २ न वडा अध्यक्ष प्रेम खड्काले बताए। यस प्रकारको गतिविधिबाट आफ्ना अनियमित गतिविधि ढाकछोप गर्न अर्को हर्कत भएको खड्काको आरोप छ। विगतका कार्यपालिका बैठककले पारित गरेको निर्णय कार्यान्वयन हुनुपर्ने, आवश्यकताभन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने लगायत माग गरेर वामबाट निर्वाचित जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट बहिष्कार गर्दै आइरहेका छन्। जसका कारण हालसम्म गाउँपालिकाले नीति तथा कार्यक्रम पास गर्न सकेको छैन।